हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदीे गाउँपालिका आँपचौरमा पालन गरिएको टर्की कुखुरामा बर्डफ्लु देखिएको छ । काठमाडौं सहित आसपासका क्षेत्रमा देखिदै आएको बर्डफ्लु मकवानपुरको भीमफेदी गाउँपालिका–२, आँपचौरमा टर्की कुखुरामा देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।

आपचौरमा किसानले पालेको कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लु एच फाइब एन वान नामक भाइरस संक्रमण भएको पुष्टि भएको कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए । उक्त स्थानका कुखुरा नष्ट गर्ने तयारी भईरहेको र संक्रमित क्षेत्र प्रशासनको नियन्त्रणमा रहेको जनाइएको छ

त्यस्तै कुखुरामा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणको प्रयास अघि बढाएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा सोमबार बसेको बर्डफ्लु नियन्त्रण समितिले तीन बुँदे निर्णय गर्दै बर्डफ्लु नियन्त्रणका प्रयासका लागि तयारी अघि बढाएको हो । प्रजिअ पाण्डेले बर्डफ्लु संक्रमण देखिएको स्थानमा टोली खटाएर काम अघि बढाइसकेको बताए ।