हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–१, सुन्दरीमाईमा टाटा सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो १ बजेको समयमा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको ना १ ज ३४७२ नम्बरको सुमो र भैंसेबाट हेटौंडातर्फ जाँदै गरेको ना ४९ प २५५६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा–८, कमानेका ३१ बर्षीय प्रमोदकुमार रिमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते रिमालको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ । प्रहरीले दुवै सवारी साधन र सुमोका चालक काठमाडौं–१४, बल्खु का ३९ बर्षीय अर्जुन भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।