हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा १५ शैयाको पृथ्वी चन्द अस्पताल शिलान्यास गरिएको छ । गाउँपालिका भित्रका ७० वर्ष माथि उमेर समूहका १५ जना जेष्ठ नागरिकले अस्पतालको शिलान्यास गरेका हुन ।

१२ करोड ६१ लाख ९२ हजार ७५७ रुपैयाँ ३६ पैसा लागतमा अस्पताल निर्माण हुन लागेको हो । मिनि ट्रमा सेन्टरको विकास गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त अस्पताल विस २०८१ फागुन १५ गतेसम्ममा सम्पन्न हुने छ । रबिना नवसिर्जनशिल जेभीले अस्पताल निर्माणको ठेक्का पाएको छ ।

३ वटा ब्लकमा निर्माण हुन लागेको अस्पतालमा लिफ्ट सिस्टमसहित भूकम्प प्रतिरोधि, बालमैत्री, अपाङ्गमैत्री भवनमा प्रयोगशाला, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवा उपलब्ध रहने छ । अस्पतालको शिलान्यास गर्ने १५ जना जेष्ठ नागरिकहरुलाई अस्पतालबाट आजीवन ओपिडी सेवा निशुल्क हुने समेत घोषणा बताइएको छ ।

कार्यक्रममा गाउँपालिका इन्जिनियर सुन्दर बर्तौला, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भागवती पुडासैनी, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, गाउँपालिका उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकीय अधिकृत भिमलाल महर्जन लगायतकाको सहभागिता रहेको थियो ।