हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउने तर्फ तीनै तहका सरकार क्रियाशील हुन आवश्यक रहेकोमा जोडदिएका छन् । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रवार शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय संकल्पलाई साकार पार्न हरेक नागरिक, परिवार, सामाजिक संघ संस्था पनि क्रियाशील हुनु आवश्यक रहेको उनले बताए ।

दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिधित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्नुपर्ने उनको भनाई छ । “लैङ्गिक समानताको उद्देश्य पूरा गर्न श्रोत माथिको निर्णायक अधिकार, अवसरमा महिलाहरूको समान पहुँच सुनिश्चित हुनुपर्दछ, यसका लागि तीनै तहका सरकारले प्राथमिकताका साथ महिला लगायत उपेक्षित एवम् सीमान्तकृत समुदायहरुको लागि क्षमता अभिवृद्दिको कार्यक्रम मार्फत प्रतिष्पर्धात्मक ढंगबाट सहभागी हुने बातावरणको सृजना गर्नु आजको प्रमुख आवश्यकता हो”– मुख्यमन्त्री जम्कट्टेलले भने ।

गृहणी महिलाहरूको सशक्तीकरणमा जोड दिदै राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरण आवश्यक रहेको जिकिर गर्दै सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानको रूपमा अघि बढाउन बागमती प्रदेश सरकार दृढ रहेको उनले विश्वास दिलाए । विश्व समुदायले संकल्पको रुपमा अघि बढाइएको दिगो विकासको लक्ष्य हासिल गर्नका लागि समाजमा विद्यमान कायम रहेका लैङ्गिक असमानताहरुलाई हरेक क्षेत्रबाट हटाउनुपर्ने उनको धारणा छ । नेपालको संबिधानले लिएको समाजवाद उन्मुख नेपाली समाजको निर्माण गर्ने लक्ष्य हासिल गर्नका लागि हरेक नागरिकले सामाजिक न्याय प्रत्याभूत भएको महशुस गर्न सक्ने वातावरण गर्नु आजको आवश्यकता रहेको उनले बताए ।

विश्वभरका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुले अघि बढाइएको समाज रुपान्तरणको आन्दोलनले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले महिला अधिकार तथा लैंगिक समानताको पूर्ण प्राप्ति गर्नका लागि प्रत्येक बर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउँदै आइरहेको स्मरण गरे । गोरखापत्रबाट