हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकार संस्कृतिको जगेर्ना गर्न सदैव तत्पर रहेको बताएका छन् ।

शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै प्रदेश भित्र बसोबास गर्ने सबै जात जातिका संस्कृतिहरुको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न सदैव तत्पर रहेको विश्वास दिलाए ।

शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदाय लगायत सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्वः एवम् उत्तरोत्तर प्रगतिका लागि उहाँले शुभकामना व्यक्त गरे ।

“ग्याल्पो ल्होसार पर्वले हामी बीच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण भई समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस्”– मुख्यमन्त्री जम्कट्टेलले भने ।

ग्याल्पो ल्होसार पर्वले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र समाजवादको लक्ष्य हासिल गर्न सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने उनको भनाई छ । बागमती प्रदेश भित्रका आदिवासी जनजाती शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्षको रुपमा मनाइरहँदा यसले विशिष्टिकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मुल्य मान्यता प्राप्त गरेको महशुस भएको उनको भनाई छ ।

ग्याल्पो ल्होसार मान्ने समुदायले आफ्नो घर, गाउँटोलको सरसफाई गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राखे, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मिठो परिकारकासाथमा चाङ्गोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् ।