हेटौंडा । मकवानपुरका विभिन्न भाग डढेलोको चपेटामा छ । डढेलोका कारण मकवानपुरसहित देशभरकै वायु प्रदूषण उच्च बनेको छ । यसरी फैलिएको डढेलो मानवीय कारणकै उपज भएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा दुईवटा डिभिजन वन कार्यालय रहेका छन । दुबै डिभिजनको तथ्याङ्क अनुसार जिल्लामा लागेको डढेलोको प्रमुख कारण मानव भएको देखिएको हो । जङ्गलमा घाँस पलाउन नदिन, झाडी सफा हुने, घनाझाडी हुँदा वन्यजन्तु लुकेर बस्ने लगायतका कारणले जङ्गलमा डढेलो लगाउने गरेको डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत दिपक अधिकारीले बताए । जग्गा नापी हुन थालेपछि वन अतिक्रमण गरेर जग्गा कमाउने र लालपुर्जा पाउने आशामा डढेलो लगाउने, कतिपय वन समितिमा व्यक्तिगत रिसिइवी, हेल्च्याक्रयाइ, चुरोट खाएर ठुटो बनमा फाल्ने लगायतका कारणले वनमा ढडेलो लागेको उनको भनाई छ ।

गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको छ । वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको छ । मानवीय कारणले नै डढेलो लाग्ने गरेको छ । आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछन् भनेर व्यक्तिले जानाजानी आगो लगाउँदा त्यसले अनियन्त्रित भई डढेलोको रूप लिने गरेको छ । डढेलोले माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिने लगायतका समस्या निम्तिने गरेको छ । वनमा लागेको डढेलोका कारण वातावरण प्रदुषण हुनुका साथैं मानव स्वास्थ्यमा पनि गम्भिर असर पर्ने गरेको छ ।

मकवानपुरमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म एक हजार ८८१ हेक्टर भन्दा बढी क्षेत्रफलमा वन डढेलो लागेको छ । मकवानपुरमा रहेका दुइवटा डिभिजन अन्र्तगत डिभिजन वन कार्यालय मकवानपुरको ६ सय ८६ हेक्टर वन क्षेत्र र डिभिजन वन कार्यालय राप्ती मनहरी अन्र्तगत एकहजार १९५ हेक्टर वन क्षेत्रमा डढेलोले क्षति भएको छ । डिभिजन वन मकवानपुर अन्र्तगत हेटौँडा, भिमफेदी, मकवानपुरगढी, बकैया, बागमती र डिभिजन वन राप्ती मनहरी अन्र्तगत थाहा नगरपालिका, कैलाश, राक्सिराङ, हेटौँडाको बसामाडी, भीमफेदीको भैंसे र इन्द्रसरोवर गाउँपालिका रहेको छ ।

मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नं. २ सुकौराबाट वनमा आगो लगाएको आरोपमा स्थानीयले एकजना पक्राउ गरि प्रहरीलाई बुझाएका थिए । पवली भन्ज्याङ सामुदायिक वनमा आगो लगाएको आरोपमा पक्राउ परेका एकजनालाई १२ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको वन अधिकृत अधिकारीले बताए ।

वनमा आगो लगाएमा वन ऐन २०७६ को दफा ४९ (घ) बमोजिम कसुर गरेकोमा दफा ५० को (४) मा क्षति भएको बिगो असुलीगरी ३ बर्ष सम्म कैद वा ६० हजार रुपियाँ सम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था कानूनमा छ ।

डढेलो न्यूनीकरणका लागि पोखरी निर्माण, जनचेतना फैलाउने, आमा समूह, टोल विकास संस्था सामुदायिक वन समितिका पदाधिकारी सहितको वन डढेलो नियन्त्रण सञ्जाल गठन गरी आगलागी नियन्त्रणका प्रयासहरु भइरहेको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।