हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोट सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरको पचपन्न हजार रूपमा सहित पाँच जनालाई पक्राउ गरेको हो ।

वैशाख २६ गते राति प्रहरी चौकी नामटार मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको कैलाश गाउँपालिका वडा नं ९ बाट १८ बर्षिय सीताराम थिङको साथबाट नेपाली एक हजार दरको बाह्र हजार नक्कली नोट बरामद गरेको हो । थिङलाई प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछ गर्दा उक्त नक्कली नोट मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं १४ घर भई वडा नं. ४ मा डेरा गरी बस्ने ३७ बर्षिय सुनिल ढुङगानाले दिएको बयान दिएका थिए ।

ढुङगानाको डेराकोठामा मकवानपुर प्रहरीले खानतलासी गर्ने क्रममा एक हजारको दरको नक्कली नेपाली नोट ४२ थान र उनका छोरा बर्ष १८ को रोजल ढुङगानाको साथबाट एक हजारको दरको नक्कली नेपाली नोट १ थान गरी ४३ हजार नक्कली नेपाली नोट बरामद गरेको हो ।

प्रहरीले थप अनुसन्धान गर्दा मकवानपुर गढि गाउपालिका वडा नं. ४ बस्ने बर्ष २० को सोमराज थोकर र बर्ष २८ को रामेश्वर अर्याल समेत संलग्न रहेको खुल्न आएको मकवानपुर प्रहरीले जनाएको छ । नक्कली नेपाली नोट प्रकरणमा पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।