हेटौँडा । मकवानपुरमा गत आर्थिक वर्षमा ट्राफिक कारबाहीबाट दुइ करोड ८३ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । आव २०८०–८१ को एक बर्षको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मकवानपुरमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ३७ हजार ९६० सवारी साधनको कारबाहीबाट सो राजस्व असुल भएको हो । बितेको आर्थिक वर्ष २०७९–८० मा ४७ हजार ८९९ सवारी कारवाहीबाट तीन करोड ६९ लाख ६७ हजार रुपियाँ राजस्व रकम सङ्कलन भएको थियो । तुलनात्मक रुपमा अघिल्लो आवको भन्दा गत आवमा सवारी कारवाही र राजस्व दुबै घटेको छ । ट्राफिक सचेतना फैलाएसँगै जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने घटेकाले राजस्वको रकम सङ्कलनमा पनि कमी आएको अधिकारीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिना अनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठिक नभएका वा अवैध कागजात भएको, मादक पदार्थ सेवन गरी सवारी चलाउने लगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो । गत आवमा सबैभन्दा बढी असार महिनामा ३१ लाख २९ हजार ५०१ र कम साउन महिनामा १२ लाख १२ हजार राजस्व रकम सङ्कलन भएको छ । ट्राफिक कारवाहीमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्याक्टर कारवाहीमा परेको तथ्याङ्क छ ।

गत आवमा २४५ सवारी दुर्घटनामा ५८ जनाले ज्यान गुमाए । ट्राफिकको तथ्याङ्क अनुसार जिल्लामा आव २०७७–७८ मा ३५३ सवारी दुर्घटनामा ५९ जना, २०७८–७९ मा ३१७ सवारी दुर्घटनामा ७० जना र आव २०७९–८० मा २५२ सवारी दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका थिए । तुलनात्मक रुपमा अघिल्ला आवको भन्दा गत आवमा दुर्घटना र मृत्यु हुनेको सङ्ख्या घटेको छ ।

गत आवमा दुइहजार पटक एक लाख ९६ हजार २९५ जनालाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । सवारी दुर्घटना न्यूनीकरण गर्न गत आवमा विद्यार्थी, नयाँ चालक, व्यवसायी, सरकारी कर्मचारी लगायतकालाई कक्षा सञ्चालन गरिनुका साथै सचेतनामूलक पर्चा, पम्प्लेट, स्टिकर टाँस र चालकको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

ट्राफिक प्रहरीले आव २०७७–७८ मा ३२ हजार २३९ सवारी कारवाहीबाट २ करोड ७१ लाख ६ हजार ५००, आव २०७८–७९ मा ३० हजार ३२७ सवारी कारवाहीबाट २ करोड ३६ लाख ९० हजार ५०० र आव २०७९–८० मा ४७ हजार ८९९ सवारी कारवाहीबाट ३ करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन गरेको तथ्याङ्क छ । गत आवको तुलनामा अघिल्ला आवको तथ्याङ्कलाई आधारमान्दा सवारी साधन कारवाही सङ्ख्या र राजस्व दुबै घटेको देखिन्छ ।

Visited 64 times, 1 visit(s) today