हेटौँडा । अविरल वर्षासँगै असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण ६६ हजार बढी पशुपन्छी क्षति भएको छ । बागमती प्रदेशको १३ जिल्लामा विपदमा परेर ६६ हजार १२५ पशुपन्छी क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयलको प्रारम्भिक विवरण अनुसार प्रदेशमा करिव ६१ करोड १० लाख ९ हजार ९७५ रुपैयाँ बराबरको पशुपन्छीको क्षति भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख सुजन कँडेलका अनुसार स्थानीय तहको पशुसेवा कार्यालय मार्फत मन्त्रालयमा प्राप्त प्रारम्भिक विवरण अनुसार सो क्षतिको अनुमान गरिएको हो ।
मन्त्रालयको प्रारम्भिक विवरण अनुसार गाई ४१०, भैंसी ४०६, पाडापाडी–बाच्छाबाच्छी ८२, बाख्रा दुई हजार २५६, सुगुरबँगुर दुईहजार ९८२, कुखुरा ५१ हजार ४१४ , हास आठहजार ५७५ क्षति भएको छ । त्यस्तै पाँचलाख ६४ हजार ५५० माछा, ७१३ गोठ, खोर क्षति भएको हो । पशुपन्छीलाई खुवाउने ४० हजार ८४० किलो दाना, एकलाख ७९ हजार ७३५ किलो पराल र १०६ वटा च्यापकटर क्षति भएको स्थानीयतहबाट प्रारम्भिक रुपमा प्राप्त तथ्याङ्क रहेको छ ।
बाढीपहिरोका कारण काभ्रे र सिन्धुलीमा सबैभन्दा धेरै पशुपन्छी क्षति भएको जानकारी दिर्दे मन्त्रालयका महाशाखा प्रमुख कँडेलले पूर्ण विवरण आउन अझैं समय लाग्ने बताए । टेलिफोन, पत्रबाट प्राप्त विवरणको आधारमा पशुपन्छीको क्षतिको प्रारम्भिक तथ्याङ्क तयार गरेको बताउँदै स्थानीयतहबाट विवरण अझैं अपडेट भइरहेको बताए ।
कृषि तथा पशुपन्छी क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकहरूलाई राहत दिनका लागि प्रदेश सरकारले पाच करोड विनियोजन गरेको जानकारी दिर्दे उनले क्षतिको आधारमा किसानलाई क्षतिपूर्ति दिनका लागि करिव ६० करोड आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्