हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १० औं स्मृति दिवस हेटौंडामा मनाइएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान मकवानपुर शाखाले कार्यक्रम गरेको हो ।

बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान मकवानपुर शाखा अध्यक्ष प्रकाश पौडेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले नरबहादुर कर्माचार्यको जीवनीको व्याख्या गर्दै कर्माचार्यजस्तै बन्न नसकेपनि उनले देखाएको बाटोमा आफु सधैं लागि रहने बताइन् ।

कार्यक्रममा बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी छिन्तुले चार जना संस्थापकहरुले निर्माण गरेको कम्युनिष्ट पार्टी फुट्नुमा पनि सर्त र स्वार्थ नै हावी भएको बताए । सांसद पुलामीले कर्माचार्यको तस्विरलाई साझी राखेर कम्युनिष्ट आचारणमा रहने प्रण गरे ।

कार्यक्रममा माओवादी केन्द्र मकवानपुर संयोजक सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामीमगर लगायतकाको सहभागिता रहेको थियो ।