हेटौंडा । चाडपर्व नजिकिएसँगै हेटौँडामा माछामासु पसल अनुगमनलाई तीब्रता दिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरको नेतृत्वमा बिहीवार हेटौँडा आसपासका एकदर्जन बढी माछामासु पसलकाे अनुगमन गरिएको हो ।

हेटौँडाको १६ वटा माछामासु पसलमा अनुगमन गर्ने क्रममा प्रतिवन्धित माहुर माछा, अण्डा र मासु जफल गरिएको छ । हेटौँडा–१० बसपार्कमा रहेको राजु फिस सप्लार्यबाट १६ दशमलव ९ केजी मागुर र खान उपयुक्त नभएको माछा, हेटौँडा–१ मा रहेको रेसु सप्लार्यसबाट अण्डा र प्रतिक मिटसपबाट खानको लागि उपयुक्त नभएको मासु बरामद गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरका कार्यालय प्रमुख डा.बज्र किशोर ठाकुरले जानकारी दिए ।

अनुगमनका क्रममा मासु पसलले अपनाउनुपर्ने न्यूनतम मापदण्डहरु कमले मात्रै पूरा गरेको, सरसफाइमा ध्यान नदिएको र आवश्यक मापदण्डपूर्ण रुपमा पालना नभएको पाईएको उनले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरको आर्थिक बर्ष २०८०/८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार हेटौँडा उपमहानगरपालिकाभित्र रहेका माछामासु पसलको अनुगमन गरिएको थियो । अनुगमनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयका अनुसन्धान अधिकृत विक्रम लिम्बु, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च र मासु व्यवसायी संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोरखापत्रबाट