हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले बागमती प्रदेशमा समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रम सुरुवात गरिएको बताएका छन ।

मन्त्री श्रेष्ठले आफू मन्त्री भएपछि एक वर्षभित्र गरेका कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै स्थानीयसँगको साझेदारीमा समुदायमा आधारित खेती प्रणालीमार्फत कृषि उत्पादनमा आत्मनिर्भर वडा निर्माण गर्न चालु आवदेखि एक वडा एक कृषि उत्पादन कार्यक्रम सुरुवात गरिएको उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले उत्पादनमा आधारित दुधमा अनुदान कार्यक्रम अन्तर्गत आव २०७९÷८० मा करिब ३० करोड रकम दुग्ध उत्पादकलाई दिइएको बताए । उनले स्थानीय तहसँगको समन्वयमा प्रदेशका २६ स्थानमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाका लागि निर्माण कार्य अन्तिम चरणमा रहेको दाबी गरे ।

गत वर्ष जेठ ७ गते मन्त्री बन्नुभएका मन्त्री श्रेष्ठले भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र चितवनमा आधुनिक भेटेरिनरी अस्पताल निर्माणको कार्य ६० प्रतिशत र हेटौँडा–११ मा प्रादेशिक कृषि थोक बजारको निर्माण कार्य ८५ प्रतिशत सकिएको जानकारी दिए ।

त्यस्तै प्रदेश सरकारको लगानीमा हेटौँडामा निर्माण भएको धुलो दुध कारखाना चाँडै सञ्चालनको तयारीमा रहेको र प्रदेशको आठ जिल्लाका १० स्थानमा शीतभण्डारको निर्माण कार्य ८६ प्रतिशत सकिएको जानकारी दिए ।

शीतभण्डार सञ्चालन भएपछि करिब १५ हजार आठ सय मेट्रिक टन फलफूल तथा तरकारी भण्डारण गर्न सकिने मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले जानकारी दिए । गोरखापत्रबाट

Visited 45 times, 1 visit(s) today