हेटौँडा । मकवानपुरको मनहरीमा एकै दिन तीन वटा पक्की पुलको उद्घाटन गरिएको छ । मनहरी गाउँपालिकाको बजेटमा निर्माण भएको तीनवटा पक्की पुल शनिवार मकवानपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँले उद्घाटन गरे । उद्घाटन गर्दै उनले गाउँको विकासका लागि सक्दो सहयोग गर्ने बताउँदै विकास निर्माणका कार्यमा सधैं जनताको साथमा रहेको प्रतिक्रिया दिए ।

पालिकाको बजेटमा बानियाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण भइरहेको पाँच पक्की पुल मध्ये शनिवार तीन वटा पक्की पुलको निर्माण सम्पन्न भइ उद्घाटन गरिएको थियो । सांसद बानियाँले वडा नं. १ र २ जोड्ने च्यापल खोला पुल, वडा नं. ३ र ४ जोड्ने मसिने खोला पुल र वडा नं. ४ र ५ जोड्ने ट्वाङग्राखोलाको पुल उद्घाटन गरे ।

गाउँपालिकाले वितेको आर्थिक वर्ष ०७७–०७८ मा आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा पाँचवटा पुलको ठेक्का लागेको थियो ।

अन्य दुई वटा पुलको निर्माण कार्य मङ्सिरसम्म सम्पन्न भइसक्ने मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए । ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिर्दे उनले स्थानीय सरकारको आन्तरिक स्रोतबाट जनताका लागि ठुलो काम गर्न सकिएको बताए ।

पशुपतिनाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले पुल नहुँदा विद्यार्थीले धेरै समस्या भोग्नु परेको स्मरण गर्दै ट्वाङ्ग्रा खोलामा विद्यार्थी तार्नका लागि शिक्षकहरू नै खटाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले ग्रामीण क्षेत्रमा भएको विकासको प्रशंसा समेत गरे । पुल बनेपछि यहाँका स्थानीयवासी पनि खुसी भएका छन । विद्यार्थी आवतजावत गर्न, यहाँको उत्पादन बजारीकरण गर्न र सुत्केरी हुँदा स्वास्थ्य संस्था सम्म सहज जानका लागि पुलका कारण सहज भएको यहाँका स्थानीयवासीको भनाई छ ।