हेटौँडा । मकवानपुरको कुलेखानीमा नौं लाख माछाका भुरा छोडिएको छ । इन्द्रसरोवर रिजरभ्वायरको जलिय जैविक विविधता संरक्षणका लागि नौं लाख २० हजार माछाको भुरा छाडिएको हो । मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले ८ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले एकलाख २० हजार माछाका भुरा कुलेखानी जलाशयमा छाडेका हुन् ।

मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुर निमित्त प्रमुख मनिता पौडेलका अनुसार सिल्भर २ लाख, विगहेड कार्प २ लाख, कपन कार्प १ लाख, नैनी,रुबु २ लाख र ग्रास कार्प १ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाका बरिष्ठ मत्स्य विकास अधिकृत सरोज कुमार यादवका अनुसार रहू तथा नैनी प्रजातिका माछाका भुरा एकलाख २० हजार छाडिएको हो । नेपाली सेना, स्थानीय, कर्मचारी र सरोकारवालाको सहयोगमा माछाको भुरा जलाशायसम्म लगेर छाडिएको थियो ।

मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले मत्स्य विकास केन्द्र भण्डाराबाट ५ लाख र हिरा मत्स्य ह्याचरीबाट ३ लाख माछाको भुरा खरिद गरेको थियो । यसअघि प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले बागमती नदीमा रहू तथा नैनी प्रजातिका एकलाख २५ हजार माछाका भुरा छोडेको थियो । केन्द्रले प्राकृतिक जलाशायमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नको लागी स्थानीय जातका माछाका भुरा बागमती नदीमा छाडेको हो ।

मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले अघिल्लो आर्थिक बर्षमा १० लाख माछाको भुरा छाडेको निमित्त प्रमुख पौडेलले जानकारी दिइन् । उनका अनुसार केन्द्रले चालु आवको जेठ मसान्त सम्म २ हजार ६६ केजी माछा उत्पादन गरेर सो विक्री मार्फत ५ लाख १२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०७९÷८० मा २ हजार ५१० केजी माछा उत्पादन गरेको कार्यालयले यसबर्ष अझैं उत्पादन बढ्ने विश्वास लिएको छ ।

यहाँ उत्पादन भएका माछा स्थानीयस्तरमै खपत हुने गरेको छ । सिल्भर विग हेड प्रतिकेजी २५० रुपियाँ र केज (पिजडा) मा पालेको माछा प्रतिकेजी २३० र कमन कार्प, रुहु, नैनी प्रतिकेजी ३०० का दरले स्थानीयस्तरमै विक्री हुनेगरेको पौडेलको भनाई छ । पर्यटकको रोजाइको क्षेत्र भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले यहाँको माछा अत्याधिक मन पराएर खाने गरेको होटल व्यवसायी यूनिक बिष्टले जानकारी दिए ।

बागमती प्रदेशको मकवानपुर जिल्लाको उत्तरी पहाडी क्षेत्रमा रहेको ईन्द्रसरोवर रिजरभ्वायर विद्युत उत्पादनको उद्देश्यले कुलेखानी खोलामा ड्याम वनाई निर्माण गरिएको मानव निर्मित नेपालकै ठुला रिजरभ्वायर मध्ये एक हो । यसमा पानी जम्मा पार्नलाई पालुङखोला, चित्लाङखोला, सेतीखोला, चखेल इनलेट, चल्खुखोला, ठाडोखोला र धस्कुखोला गरी जम्मा ७ वटा श्रोतहरु रहेका छन् । समुद्र सतह देखि १५०० मिटर उचाईमा यो रिजरभ्वायर रहेको छ । पुर्णरुपमा रिजरभ्वायरमा पानी भरिएको समयमा २१६ हेक्टर र हिउँदमा ५५ हेक्टर पानी रहेको हुन्छ भने रिजरभ्वायरको औषत लम्बाई ७ कि.मि.र चौडाइ ५०० मिटर सम्म रहेको छ ।

विद्युत उत्पादनको अतिरिक्त पानीको बहुआयामिक उपयोग गरी आयोजनाकालमा विस्थापित भएका सरोकारवाला कृषकहरुलाई स्थानीय स्तरमै वैकल्पिक रोजगारी प्रदान गर्ने तथा प्राणी प्रोटीनको उपलब्धतालाई बढाउने उद्देश्यले केजमा माछा पालन पनि गरिएको छ । तालमा पाईने प्राकृतिक प्लाङ्कटन आहारा खाएर हुर्कने सिल्भरकार्प र विगहेडकार्प जातका माछाहरुको केजमा पालन गरिएको हो ।

वि.स.२०४५ सालदेखि निजी स्तरमा कृषकहरुलाई प्रविधि सिकाई केजमा माछा पालन कार्यको थालनी गरिएको थियो । वि.सं. २०६६ सालमा ६८५ जना शेयर सदस्य सहित ईन्द्रसरोवर मत्स्य व्यवसायी संघको स्थापना गरी रिजरभ्वायरमा केजमा माछा पालन तथा खुला तालमा विभिन्न जातका माछाको भुरा छोडी मत्स्य पालन कार्य संचालन हुँदै आइरहेको छ । गोरखापत्रबाट साभार