हेटौँडा । अविरल वर्षापछि असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावित बागमती नदी किनारासँगै जोडिएको मकवानपुरको बकैया गाउँपालिका–१० अम्बासका २६ घरधुरीलाई राहत सामाग्री उपलब्ध गराइएको छ ।
आनी छोइङ्ग डोल्मा फाउण्डेसनको आर्थिक सहयोग एवम् मानव सेवा आश्रम मुख्यालय हेटौँडाको सहकार्यमा बकैयामा राहत सामाग्री उपलब्ध गराइएको हो । दैनिक उपभोग्य चामल, आलु, दाल, तेल, मसला, चिउरा लगायतका खाद्यान्न सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयोजक हुमनाथ पौडेलले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रमुख उमा भण्डारी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, १० नं. वडा अध्यक्ष कमला वाइवा, जनप्रतिनिधि तथा मानव सेवा आश्रमका अभियान्ता र अभिभावकहरुको सहभागिता रहेको थियो ।
आनी छोइङ्ग डोल्मा फाउण्डेसनको आर्थिक सहयोग एवम् मानव सेवा आश्रमले यसअघि मकवानपुरको सिस्नेरीमा ६२ घरधुरी र काभ्रेमा पीडामा परेका करिव तीनसय घरधुरीलाई राहत सामाग्री उपलब्ध गराइसकेको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । काभ्रे र मकवानपुरमा गरेर ३५ लाख बराबरको राहत सामाग्री उपलब्ध गराइएको हो ।
बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको मानव सेवा आश्रमले बाढी पहिरो प्रभावितको दुःखमा पनि मल्हम लगाउने प्रयास गरेको छ ।
बागमती प्रदेश सरकारले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई बढी जोखिमयुक्त पहिलो वर्गको पालिका, बागमती गाउँपालिकालाई दोश्रो वर्ग र बकैया गाउँपालिकालाई तेश्रो जोखिमयुक्त पालिका घोषणा गरेको छ । प्रदेश सरकारले पहिलो प्रभावितलाई २० लाख, दोश्रोलाई १५ लाख र तेश्रो वर्गलाई १० लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्