काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गते आइतबारदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । उक्त आईपीओ १ लाख ८४ हजार ५ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । हिजोआज निष्काशन खुला भएका एफपीओ–आईपीओहरुमा १६–१७ लाखले आवेदन दिने गरेकाले उक्त कम्पनीको आईपीओका लागि पनि १० कित्तामात्रै आवेदन दिंदा हुन्छ ।

आईपीओका लागि पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । तर तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा माघ १० गतेसम्म लम्बिनेछ । आवेदन घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म दिन पाइनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ कराड रुपियाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपियाँ बरारबको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भइसकेको छ ।

बाँकी ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।