हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले यसबाट जोगिन पूर्व तयारी आवश्यक भएको बताएका छन ।
बुधबार २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा एक सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा भूकम्पीय सचेतना वृद्धिका लागि शुभकामना व्यक्त गरेका हुन ।
१९९० साल माघ २ गतेको विनाशकारी भूकम्पको सम्झनाको दिनमा सचेतना प्रवाह गर्न हरेक वर्ष माघ २ लाई भूकम्प सुरक्षा दिवसको रुपमा विभिन्न चेतना र सावधानीमूलक कार्यक्रमसहित मनाइँदै आएको छ ।
यो वर्ष “भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीका साथ’’ भन्ने नारासहित भूकम्प दिवस मनाइँदै छ ।
भूकम्प प्राकृति प्रकोप हो । यसलाई रोक्न सकिन्न तर सुरक्षित संरचना, सावधानी, पूर्वतयारीका उपायहरु अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्दै उनले शुभकामना सन्देशमा भूकम्पलाई क्षतिका कारण मान्नुभन्दा हामीले बलिया, सुरक्षित संरचना, पूर्वसावधानी र भूकम्प गइहालेमा गर्नुपर्ने प्रतिकार्यमा उचित ध्यान दिएर सुरक्षात्मक स्थितिमा रहनुपर्ने बताए ।
नेपाल भूकम्पीय जोखिम क्षेत्रमा रहेको कारणले पनि हामी धेरै सचेत हुनु जरुरी छ शुभकामना सन्देशमा भनिएको विस २०७२ को बिनाशकारी भूकम्पपछि धेरै पराकम्प र अरु थुप्रै भूकम्पहरुले हामीलाई तर्साइरहेका छन् । हामी आत्तिनु हुँदैन तर सुरक्षात्मक उपायहरू अपनाउन कुनै कसर बाँकी राख्नुहुँदैन । राज्यका सम्पूर्ण निकाय समेत पूर्वतयारीका साथ रहनुपर्छ ।
उनले इतिहासको विभिन्न कालखण्डमा गएका भूकम्पमा परी ज्यान गुमाउने ज्ञात अज्ञात व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण नेपालीहरु तथा राज्यका सम्पूर्ण निकायहरुमा भूकम्पीय सुरक्षात्मक उपायहरू यथाशक्य अपनाउन आजको दिनले प्रेरणा दिनेछ कामना गरेका छन ।












प्रतिक्रिया दिनुहोस्