काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपियाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले प्रतिऋणपत्र १००० अंकित दरमा ३० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १५ गते स्वीकृति पाएको थियो ।

बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । त्यस्तै ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

१० वर्षे अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन यही फागुन १८ गतेदेखि २१ गतेसम्म दिनुपर्नेछ । २१ गतेसम्म पर्याप्त आवेदन नपरेमा म्याद चैत ३ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।