हेटौँडा । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

बुधवार नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले हेटौँडा–१०, भुटनदेवीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ जना पुरुष र ६ जना महिलाले रक्तदान गरेका हुन् । कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम संयोजक भरत कुमार भण्डारीले जानकारी दिए ।

कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेशका डिभिजन प्रमुख जितेन्द्र कुमार झा र कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । वार्षिकोत्सवको अवसरमा यसअघि वृक्षारोपण कार्यक्रम, ब्याटमिन्टन प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता र क्यारेमबोड प्रतियोगिता सम्पन्न गरिसकेको प्रशासन प्रमुख भिमकान्त चौधरीले जानकारी दिए। नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रम गरि हरेक बर्ष भदौ १ गते समापन गर्दै आइरहेको छ ।