हेटौंडा । अफिम ओसारपसार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १५ वर्षभन्दा बढी कैद गर्ने फैसला सुनाएको छ ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश शकुन्तला कार्कीको बुधबार बसेको इजलासले मकवानपुरको राक्सिराङ गाउँपालिका—५ का २७ वर्षीय सुदीपकुमार चेपाङलाई अफिम ओसारपसारको मुख्य व्यक्ति भएको ठहर गर्दै १५ वर्ष ४ महिना कैद र ५ लाख ५ सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

अफिम ओसारपसारमा मतियार भई जोडिएका राक्सिराङ—५ का २६ वर्षीय वीरबहादुर चेपाङलाई ७ वर्ष ८ महिना कैद र २ लाख ५० हजार २ सय ५० रुपैयाँ जरिवान गर्ने फैसला सुनाएको छ ।

अफिम ओसारपसारमा संलग्न रहेका राक्सिराङ—८ का चिरञ्जीवी थिङ फरार रहेका छन् । अदालतले उनको हकमा भने मुद्दा मुलतबीमा राखिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताए ।

मकवानपुर प्रहरीले २०८० चैत ८ गते ९ केजी ८ सय २० ग्राम अफिमसहित चेपाङद्वयलाई मनहरी गाउँपालिकाको प्याङचेबाट पक्राउ गरेको थियो । चेपाङद्वय भीमफेदी कारागारमा छन् ।