हेटाैँडा । चैत्रमा सञ्चालन हुने एसईइको परीक्षाका लागि सबै विद्यालयका विद्यार्थीहरुलाई खाना र आवासको व्यवस्था गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।
मंगलबार कालिका माविमा आयोजित कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले अन्य तहमा परीक्षा केन्द्र रहेर परीक्षा दिने विद्यार्थीहरुका लागि खाना र आवासको व्यवस्था गरिने बताएका हुन् । गत वर्षबाट गाउँपालिकामा कालिका मावि परीक्षा केन्द्र तोकिएसँगै विद्यार्थीहरुलाई सहजता भएको उनले बताए । यस विद्यालयका विद्यार्थीले भने हेटौंडामा परीक्षा दिनुपर्ने भएकाले उनीहरुको लागि पनि गाउँपालिकाले खाना र आवासको व्यवस्था गर्ने बताए ।
विद्यार्थीहरुले लगनशीलताका साथ अध्ययन गर्न आग्रह गर्दै अनुशासितका साथ पढाई गरी राम्रो नतिजा निकाल्न आग्रह गरेका थिए । कैलाशको शिक्षा सुधारोन्मुख रहेकाले एसईइ मात्र नभई कक्षा १२ को नतिजामा पनि विद्यार्थीहरुले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा वडा अध्यक्ष घलानले कक्षा ११ मा जति पनि विद्यार्थीहरु छन् राम्रो अध्ययनले विद्यालयलाई नतिजा निकालेर अध्ययन गर्न आग्रह गरेका छन् । शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेको लगानी पक्कै पनि सुधार रहोस् भन्ने छ र उच्च शिक्षाका लागि हेटौंडा लगायत अन्य शहरहरुमा पुग्नेछन् भन्ने विश्वास लिएको उनले बताए ।
कक्षा १२ का विद्यार्थी आशिका पुडासैनीको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा वडा अध्यक्ष भूवन सिं घलान, विद्यालय समितिका अध्यक्ष मदन प्रसाद बर्तौला, गाउँपालिकाका शिक्षा शाखा प्रमुख समीर जोशी, विद्यालयका प्रअ रामप्रसाद कालाखेती, पूर्व प्रअ राजाराम पराजुली, सहायक प्रअ रामचन्द्र पौड्याल लगायतको आतिथ्यता रहेको थियो । कक्षा १२ का विद्यार्थीहरुले ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेका थिए । कक्षा १२ का अध्ययनरत सुस्मिता थिङ र कक्षा ११ मा अध्ययनरत अस्मिता ब्लोनले आफ्नो भनाई राखेका थिए ।
कालिका माविमा शिक्षा शास्त्र र व्यवस्थापन शास्त्र अध्यापन गराउँदै आइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्