हेटाैँडा । श्रम संस्कृति पार्टीबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा विद्या श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको पार्टीको केन्द्रीय सदस्य पद त्यागेर श्रेष्ठ श्रम संस्कृति पार्टीमा आबद्ध भएकी हुन्। घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य रहेकी श्रेष्ठले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी हुन्। उनले म‌गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्।

हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विरोधमा सक्रिय रहँदै आएकी श्रेष्ठले स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर निर्वाचनमा होमिएको बताएकी छिन्। उनको उम्मेदवारी दर्ताका क्रममा प्रस्तावक ममता प्रधान र समर्थक प्रवीणकुमार रजक रहेका छन्।

सडक विस्तारका क्रममा प्रभावित व्यवसायी तथा स्थानीयको पक्षमा खुलेर उभिँदै आएकी श्रेष्ठको उम्मेदवारीले मकवानपुर– १ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ । स्थानीय मुद्दालाई केन्द्रीय एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएकी श्रेष्ठले आफू वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने दाबी गरेकी छिन्।

यस्तै श्रम संस्कृति पार्टीबाट मकवानपुर २ युनिस लामाले उम्मेदवारी दर्ता गराएका छन्।