हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुखको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । क्याम्पस संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा विहीबार अनावरण गरिएको हो ।
क्याम्पस आल्मुनाई एसोसिएसनको अग्रसरतामा संस्थापक प्रमुख श्रेष्ठको अर्धकद प्रतिमा मकवानपुरका मूर्तिकार लक्ष्मण भुजेलले तयार गरेका हुन् । श्रेष्ठको प्रतिमा क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले संयुक्तरुपमा अनावरण गरेका हुन् । श्रेष्ठको समयमा क्याम्पसको लागि उल्लेखनीय योगदान गरेका श्रेष्ठको सम्मानमा प्रतिमा निर्माण गरिएको हो ।
२०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति पाएको मकवानपुर बहुमुखी क्याम्पसले २०३८ सालदेखि पठनपाठन सुरु गरेको हो । क्याम्पस सञ्चालन गर्ने तयारी भए पनि दक्ष जनशक्तिको अभाव रहेको समयमा मुकुन्द दास श्रेष्ठ त्रिचन्द्र क्याम्पसबाट काजमा मकवानपुर क्याम्पसमा आएका थिए । श्रेष्ठले स्थापना कालदेखि २०४५ माघ १० गतेसम्म क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका थिए ।
२०७२ सालको भूकम्पमा परी निधन भएका श्रेष्ठको ४ छोरी र १ छोरा छन् । मकवानपुर क्याम्पसका पूर्व विद्यार्थीहरुको संगठनले संस्थापक क्याम्पस प्रमुख श्रेष्ठको प्रतिमा बनाउन अग्रसरता लिएको हो । श्रेष्ठको प्रतिमा बनाउन हेटौंडा उपमहानगरपालिकाले ४ लाख रुपैयाँ सहयोेग गरेको छ भने क्याम्पसले ५५ हजार रुपैयाँ, मकवानपुर बहुमुखी एल्मुनाईका अध्यक्ष केशवलाल श्रेष्ठले ५४ हजार रुपैयाँ, क्याम्पसका प्राध्यापकहरुले ३५ हजार रुपैयाँ सहयोग गरेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्