हेटौंडा । हेटौंडा ४ स्थित हुप्राचौरबाट आज शनिवारदेखि ‘सफा हेटौंडा अभियान’ सुरु भएको छ । अभियानको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हुप्राचौरमा सरसफाई गर्दै सुरुवात गरेकी हुन् ।
हेटौंडा उपमहानगरपालिकाका कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, वडा नं. ५ का वडा अध्यक्ष, वडा नं. ४ का वडा सदस्य, स्थानीयवासी, हेटौंडाका सचेत युवाहरुको समुह, खेलाडीहरुले सरसफाई अभियानमा सहयोग गरेका थिए ।
सरसफाइमा जनसहभागिता वृद्धि गर्ने र जनतालाई नै अपनत्व गराउने उद्देश्य अनुसार हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाले ‘सफा हेटौंडा अभियान’ को घोषणा गरेर काम सुरु गरेकी हुन् । जनस्तरबाटै हेटौंडालाई सुन्दर र सफा बनाउने लक्ष्य अनुरुप सरसफाई सुरु गरिएको हो ।
हरित नगरीको रुपमा परिचित हेटौंडालाई सफा र थप सौन्दर्यता दिनका लागि अभियान घोषणा गरेरै काम थालिएको हो । मेयर लामाले अभियानमा सहभागि हुन सम्पूर्ण हेटौंडावासीलाई आग्रह समेत गरेकी छिन् ।
अभियानमा स्वतस्फूर्त रुपमा हेटौंडाबासीलाई सहभागी हुन आह्वान गर्दै लामाले अन्य सहरहरुमा चलिरहेको सफाइ अभियान तथा सफाइको विधिलाई हेटौंडामा पनि कार्यान्वयनमा ल्याउने बताइन् । उनले पर्यावरण जोगाउन र प्रदूषणको न्यूनीकरणका लागि आवश्यक योजनाहरु तयार गरेर जनस्तरबाटै कार्यान्वयन गरिने बताइन् ।
नगरको सौन्दर्यता बढाउनका लागि हरेक हप्ताको शनिवार नगरका विभिन्न वडाहरूमा सरसफाई अभियानलाई संचालन गरिने छ । अभियानलाई टोल विकास समन्वय समितिसँगको सहकार्यमा लामो समयसम्म अघि बढाइएको छ । सफाई अभियानमा हप्ताको २ घण्टा श्रमदान जुटाउने निर्णय गरिएको छ ।
यसरी हुन्छ हेटौंडाको फोहर व्यवस्थापन
सरसफाईका हिसावले हेटौंडाका नाम देशकै अग्र स्थानमा रहने गरेको छ । उपमहानगरपालिकाले समुदाय निजी साझेदारीको अवधारणा अनुसार फोहोर व्यवस्थापनको काम सुरु गरेसँगै हेटौंडा सफा सहरको रुपमा परिचित हुन सम्भव भएको हो ।
उपमाहनगरपालिकाको नेतृत्वमा समुदाय निजी साझेदारी अनुसार वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापनमा काम सुरु गरेपछि हेटौंडाले सरसफाइको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हात पार्न सफल भएको हो ।
हेटौंडाको जनप्रतिनिधिहरुको सोच र योजना अनुसार वैज्ञानिक प्रविधिबाट फाहोर व्यवस्थापन कार्यका लागि समुदाय निजी साझेदारी अवधारणा सुरु गरिएको थियो । जसबाट हेटौंडाको फोहोर व्यवस्थापन हुनुका साथै आर्थिक रुपमा पनि सहजता मिलेको छ ।
फोहोर व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिकाले खासै खर्च गर्नुपर्ने अवस्था छैन । अन्यत्र जस्तो हेटौंडामा फोहोर व्यवस्थापनमा वार्षिक रुपमा बजेट विनियोजन हुने गरेको छैन ।
फोहोर व्यवस्थापनका लागि स्थानीय तह, समुदाय र नीजि क्षेत्रको साझेदारीमा काम गरिएको छ । कोभिड–१९ संक्रमण आउनु अघिसम्म उपमहानगरपालिको पहलमा हेटौंडामा उत्पन्न हुने फोहोरको स्रोतमा नै विभाजन गरी संकलन गरिन्थ्यो । हेटौंडा उपमहानगरपालिकाको योजना अनुसार उत्पन्न हुने फोहोरलाई जैविक र अजैविक गरी दुई छुट्टाछुट्टै स्थानमा संकलन गरी व्यवस्थापन गरिन्थ्यो । तर, कोभिड–१९ संक्रमणको जोखिम पछि भने स्रोतमा नै फोहोरको वर्गिकरण गर्ने कार्य रोकिएको छ ।
हेटौंडा उपमहानगरपालिकाले फोहोरको वर्गिकरणको कार्य हुन नसकेपनि एकमुष्ट रुपमा संकलन भने जारी राखेको छ । उपमहानगगरपालिकाले आवश्यक कार्य पुरा गरि पुनः स्रोतमा नै फोहोर वर्गीकरण गर्ने तयारी गरिरहेको छ ।
वर्गीकरण गरिएको जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर हेटौंडाका बासिन्दाले आम्दानीसमेत गरिरहेका छन् । उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा बजेट नछुट्याए पनि स्थानीयबाट मासिक न्यूनतम शुल्क उठाएर गरिरहेको छ ।
नकुहिने फोहर ग्रीन एण्ड क्लिन सिटी सर्भिसेज प्रा.लिले घर घरमा नै पुगेर संकलन गर्छ भने कुहिने फोहोरबाट स्थानीयले जैविक मल तयार गर्ने गरेका छन् । फोहोर संकलन कार्य गरेवापत सो कम्पनीले स्थानीयबाट मासिक १०० देखि १५० रुपैयाँसम्म उठाउने गरेको छ । हेटौंडा उपमहानगरपालिकाले भने त्यसको अनुगमन र प्रभावकारिताको अध्ययन गर्ने काम गर्दै आएको छ ।
उपमहानगरपालिकाले बजार क्षेत्रका विभिन्न स्थानमा नागरिकको सहायताको लागि हरियो डस्टबिनमा कुहिने फोहर र निलो डस्टबिनमा नकुहिने फोहर छुट्याएर राख्ने व्यवस्था समेत गरेको छ । कम्पनीले घर घर पुगेर उपमहानगरका वडामा कुहिने र नकुहिने फोहर बार अनुसार संकलन गर्ने गर्छ । शनिबार र मंगलबार नकुहिने तथा सोमबार र बिहीबार कुहिने फोहर संकलन गरी व्यवस्थापन गरिन्छ ।
बजार क्षेत्रबाट संकलित फोहोरलाई हेटौंडा–१० स्थित डम्पिङ साइड नजिकै लगेर वर्गिकरण गरिन्छ । जसलाई अजैविक फोहोर दोस्रो चरणको पृथकीकरण केन्द्र पनि भनिन्छ । त्यहाँ पुनः प्रयोग गर्न मिल्ने फोहरको वर्गिकरण गरिन्छ । संकलित फोहोरबाट निस्किएको पुनः प्रयोग गर्ने मिल्ने फोहोर कम्पनीले बिक्री गर्छ । बाँकी रहेको फोहर मात्र ल्याण्डफिल साइटमा लगेर व्यवस्थापन गरिन्छ ।
फोहर व्यवस्थापनका लागि हेटौंडा–१० स्थित राप्ती खोलाको कटान क्षेत्रमा ल्याण्डफिल साइट निर्माण गरेको छ । उपमहानगरपालिका क्षेत्रबाट निस्किएका जैविक फोहोरलाई ग्रिन एण्ड क्लिन सिटी सर्भिसेज प्रा.लि.ले हेटौंडा–१० मा रहेको कम्पोस्ट प्लान्टमा लगेर मल बनाउने गर्छ । उक्त मल बिक्रि गरेर कम्पनीले आर्थिक आम्दानीसमेत गरिरहेको छ ।
यसैबीच फोहर व्यवस्थापनका लागि उपमहानगरपालिकाले लागि ७० जना कर्मचारी परिचालन गरेको छ भने कम्पनीले ४० जना कर्मचारी परिचालन गरेको छ । सबै कर्मचारीहरुलाई दुई सिफ्टमा काममा खटाउने गरिएको छ विपद् प्रतिकार्य, फोहोर मैला व्यवस्थापन तथा वातावरण शाखा प्रमुख शान्ति विकले जानकारी दिइन् ।












प्रतिक्रिया दिनुहोस्