हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णु दाहाल चयन भएका छन् । दाहाल यसअघि सचिव थिए ।

आज शनिबार भएको पार्टीको विस्तारित बैठकले उपाध्यक्षमा कृष्ण राई र भूमिनन्द अर्याल, सचिवमा ध्रुव भुजेल, उपसचिवमा किशोर टण्डन, किरण बल, कविन पन्त र बेगम बराललाई चयन गरेको छ ।

यस्तै, बैठकले निर्वाचन क्षेत्र नम्बर १ संयेजकमा नारायण तिमल्सिना र निर्वाचन क्षेत्र नम्बर २ संयोजकमा रामकुमार एलनलाई जिम्मेवारी तोकेको छ ।

पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर अध्यक्ष सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा भएको बैठकमा पार्टी बागमती प्रदेश उपाध्यक्ष एवम् इञ्चार्ज केदार न्यौपाने, स्थायी कमिटी सदस्यद्वय विरोध खतिवडा, ललित बस्नेतले पार्टी कामलाई जनतासँग जोडेर पार्टी निर्माणमा सामुहिक रुपमा अघि बढ्नुपर्ने बताए ।

स्थानीय तह निर्वाचनताका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेपछि केन्द्रीय सदस्य न्यौपाने निर्वाचनभर अध्यक्ष बनेका हुन् । न्यौपानेपछि दाहाल अध्यक्ष चयन भएका हुन् ।