हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा बालगोपाल कंडेलले उम्मेदवारी घोषणा गरेका छन् ।
संघको यही माघ २८ र २९ गते हुन लागेको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट नेतृत्व गर्ने लक्ष्यसहित उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष समेत रहेका उनले अध्यक्ष पदमा उम्मेदवारी रहने बताएका हुन् ।
२०५२ सालदेखि निर्माण व्यवसाय क्षेत्रमा संलग्न रहेका उनी २०५८ सालमा निर्माण व्यवसायी संघको कार्यसमिति सदस्य भएका थिए । कंडेलले हालसम्म तृतीय, द्वितीय र प्रथम उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।
संघको अधिवेशनले आगामी तीन वर्षीय कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । सहयोगका लागि निर्माण व्यवसायीमा अपिल समेत गरेका छन् । उनी मेरिना कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष हुन् ।












प्रतिक्रिया दिनुहोस्