हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा ५ र थाहा नगरपालिका वडा ९ को सिमानामा पर्ने सानोपोखरी डाँडाबाट एक व्यक्तिले डलर साट्ने नाममा सिजलबहादुर सुनारबाट रकम लिएर दुई जना फरार भएका छन् ।

पर्वत जिल्लाको महाशिला गाउँपालिका २ घर भएर हाल गोरखा जिल्लाको आरुघाट गाउँपालिका ४ आरुघाट बस्ने २७ वर्षीय सुनारबाट पहिचान नखुलेको दुई जनाले १३ लाख ५० हजार रुपियाँ लिएर फरार भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

नामथर नखुलेका कालो टोपी, सेतो ट्राउजर, कालो ज्याकेट, रातो कलरको स्पोर्ट जुत्ता, वर्ष २६÷२७ को गुरुङ तामाङ जस्तो देखिने र अर्का कालो ज्याकेट, कालो ब्याक बोकेको, कालो ट्राउजर लगाएको २१÷२२ वर्षको जस्तो देखिने हुलिया भएका व्यक्तिहरुले डलर साट्ने बाहनामा नगद रकम लिएर फरार भएका थिए ।

प्रहरीका अनुसार रकम चोरी गरी फरार रहेका ती व्यक्तिहरुले बिगत एक महिना अगाडि आएर सुनारलाई भेटघाट गरेको र चोरीमा संलग्नको खोजी कार्य भइरहेको छ ।