ऋषि के.बी.छोटो समयमा कानून व्यवसायीका रुपमा आफूलाई परिचित गराउँन सफल व्यक्तित्व हुन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा वि.सं. २०३५ साल पौष १६ गते माता देबु के.बी.र पिता रामहरी के.बी.का कोखबाट जन्मिएका के.बी. अहिले मकवानपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्षको भूमिकामा छन् । कानून व्यवसायीका रुपमा आफूलाई स्थापित गराईरहेका के.बी.बहुमुखी प्रतिभाका धनी हुन् । कानून व्यवसायीका रुपमा मात्र उनलाई चिनेर पुग्दैन उनी साहित्यकार, चित्रकार, फोटोग्राफर, संगीतकार, गीतकार, गायक समेत हुन् ।

कानून व्यवसायमा आबद्द हुनुभन्दा अघि नै उनी साहित्य, कलाकारिता, पत्रकारिता, संगीत, खेल, शिक्षण आदि क्षेत्रबाट स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित हुन सफल व्यक्तित्व हुन् ।

उनले गजलमा लेखिएको नाटक ‘रगतले लेखिएको इतिहास’ नेपालकै पहिलो गजल नाटक हो । के.बी.ले विभिन्न ९ वटा अंग्रेजी र नेपाली गीत लेखेका छन् । उनी गीत लेख्नेमात्र होइन आफैं संगीत भर्न र गाउने प्रतिभावान व्यक्तित्व हुन् । विदेशी सांगितिक समूह समेतले केबीद्वारा रचित रचना गायन र रेकर्ड गरिएको छ ।

केबीका विभिन्न ८ वटा साहित्यिक कृति प्रकाशित छन् । मेरो अन्तर्मनले भन्छ (कविता संग्रह–२०५३), उद्गार (कविता संग्रह-२०५५), सिमात–बकैया(कथा संग्रह-२०५७), उडान-युद्द X बुद्द (मकवानपुरकै पहिलो हस्तलिखित कृति -२०५८), अतृप्त खण्डहरु (कविता सहलेखन २०६३), स्पन्दन(गजल संग्रह–२०६६), रगतले लेखिएको इतिहास (गजल नाटक – २०६७), हर्क रम्तेल :  हिजोदेखि आजसम्म (जीवनी-२०६७), तरङ्ग–तरङ्गिनी (उपन्यास), साटो उपन्यास उनका प्रकाशित कृति हुन् । कृतिकार मात्र होइन उनले स्कुलिङ कम्युनिज्म (रसिया टु रोल्पा) धारावाहिक रुपमा प्रकाशन गरेका छन् भने उनले लेखेका लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

उनले विभिन्न साहित्यिक तथा समाचारमूलक पत्रपत्रिका सम्पादन गरेका छन् । युग प्रणयन, शौरभ,प्रबन्ध, विद्याथी आवाज, सर्वसिर्जन, हेटौंडाखबरपत्र, द एलिगन्ज,इन्द्रसरोबर, साम, निकास जस्ता साहित्यिक पत्रिका तथा समाचार मूलक अखबारमा केबीले सम्पादकको जिम्मेवारी निर्वाह गरेका छन् । उनले सम्पादन गरेका साहित्यिक कृतिहरु बुद्द पुन : एक पटक जन्म लेउ(कविता संग्रह), यात्रा आरम्भ (लघुकथा), पर्खालपारी (उपन्यास) हुन् ।

उनको अर्को मकवानपुरले गर्व गर्ने परिचय कार्टुनिस्ट हुन् । मकवानपुरे पत्रकारितामा पहिलो प्रकाशित मौलिक व्यङ्ग्य चित्र कार्टुनिष्टका रुपमा उनले आफूलाई अभिलेखित गराएका छन् ।

वि.सं.२०५३ सालमा नमस्कार साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका के.बी.संग छापा, श्रव्यदृश्य, रेडियो र अनलाइन पत्रकारिताको अनुभव छ ।

चित्रकलामा निक्कै खुबी भएका के.बी.का तीन पटक एकल चित्रकला प्रदर्शनी एवं कयौपटक संयुक्त चित्रकला प्रदर्शनी गरिएका छन् ।

आफूले गरेका कार्यबापत उनले विभिन्न पुरस्कार, सम्मान पनि प्राप्त गरेका छन् । मकवानपुर प्रतिभा (२०५९), प्रे.ब. कार्कीं पुरस्कार, (उत्कृष्ट वर्ष युवा सन् -२००३), दशौं राष्ट्रिय चित्रकला प्रतियोगिता-२०५०(द्वितीय), साम वर्षव्यक्ति-२०६५ बाट उनी सम्मानित तथा पुरस्कृत भएका छन् । यस्तै, द राइजिङ हेटौंडा अवार्डबाट पछिल्लो पटक उनी सम्मानित भएका छन् ।

हाल बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, राप्तीरोड निवासी केबी विगतमा जसरी विभिन्न क्षेत्रमा क्रियाशील भएर लागिपरे अहिले कानूनी व्यवसायीका रुपमा पनि मन जित्ने प्रयत्न गरिरहेका छन् ।

समग्रतामा उनको परिचय भनेको ‘एउटै मान्छे एकै समयमा अनेक क्षमताको धनी’ व्यक्तित्वका रुपमा उनलाई चिनिन्छ । हाल उनी सिद्दार्थ मावि, हेटौंडामा कक्षा ११ र १२ मा कानून विषयको अध्यापक रहेका छन् ।

साभारः लोक खबर