काठमाडौं । सरकारले कच्चा दूधमा किसानले पाउने आधार मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँबाट बढाएर ५६.०४ रुपैयाँ कायम गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको छ, अहिलेलाई उपभोक्ता मूल्य बढेको छैन्,’ प्रवक्ता सञ्जेलले भने । यस अघि सरकारले २०७६ भदौमा दूधको मूल्य बढाएको थियो ।

कच्चा दूधको मूल्य वृद्धि फ्याट र एसएनएफको आधारमा गरिएको प्रवक्ता सञ्जेलले बताए । सरकारले दूधको न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । फ्याट र एसएनएफ बढी भए किसानले दूधमा बढी मूल्य पाउँछन् ।

मन्त्रालयका अनुसार मूल्य निर्धारण गर्दा यस अघिकै फर्मुलाअन्तर्गत फ्याटलाई ६.८१ रुपैयाँ र एसएनएफलाई ३.६० रुपैयाँले गुणन गर्दा हुने कुल मूल्यका आधारमा नयाँ मूल्य तोकिएको हो ।