काठमाडौं । च्याउको बिउ बेचेर सजिता श्रेष्ठले मनग्य आम्दानी गरेकी छिन । काठमाडौंमा महिला कृषि उद्यमी श्रेष्ठले च्याउको बिउ बेचेर मनग्य आम्दानी गरेकी हुन । उनी व्यवसायलाई थप व्यावसायिक बनाउने योजनमा रहेकी छिन ।

श्रेष्ठले कन्ने च्याउको बिउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएकी छिन । जेटिए अध्यन गरेकी श्रेष्ठ कृषिमा जागिर खानु भन्दा पढेपछी कृषिमा नयाँ केही गरौं भन्ने सोचले च्याउ खेतिको संभावना बढी देखेर च्याउ खेतिमा लागेको बताउँछिन । जुन काममा हात हाल्छु त्यसलाई व्यावसायिक बनाउछु भन्ने सोच आएको र अहिले च्याउ उत्पादनमा व्यावसायिक रुपमा लागेको उनको भनाइ छ ।

तीन वर्षदेखि व्यावसायिक च्याउ खेती गर्दै आएकी उनले गत वर्षदेखि बिउ उत्पादन गर्न सुरु गरेकी हुन भने अहिले ल्याब स्थापना गरि च्याउको बीउ उत्पादन गरि बिक्रीवितरण गरेर राम्रो आयआर्जन गरेकी छिन । २०० ग्रामको दैनिक एक हजार प्याकेट बिउ उत्पादन गरिरहेको श्रेष्ठको भनाइ छ । उनको अनुसार यसअघि बिउ लिन हेटौँडा, काठमाडौंजस्ता ठूला शहरहरुमा धाउनु पथ्र्यो, अहिले काठमाडौंको जिएस बिउ तथा च्याउ उत्पादनको बिउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिक रुपमा च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ ।

श्रेष्ठले करिब ३० लाख रुपैयाँमा बिउ उत्पादन गर्ने उपकरण किनेकी छिन । स्थानीय बजारमा पनि च्याउको माग अत्यधिक रहेकाले च्याउ र बिउ बिक्री गर्न बजारको समस्या नभएको उनको भनाइ छ । उनले प्रतिप्याकेट ३० रुपैयाँमा स्थानीय किसान, भक्तपुर , नुवाकोट , ललितपुरका किसान र कृषि ज्ञान केन्द्र ललितपुर लगायत देशका विभिन्न ठाउँमा बिउ बिक्री गरिरहेकी छिन ।
श्रेष्ठले जिएस बिउ तथा च्याउ उत्पादन केन्द्र फर्म दर्ता गरेर च्याउको बिउ उत्पादन गर्ने काममा तीनजनालाई रोजगारी दिएकी छिन ।

स्वदेशमै केही गरौं भन्ने उद्देश्यले २०७६ सालदेखि व्यावसायिक च्याउ खेती सुरु गरेकी उनीे अहिले १५ सय पोका राख्न सक्ने क्षमताको टनेल निर्माण गर्ने तयारीमा छिन । च्याउ खेती विशेषतः जाडो मौसममा हुने भएकाले बेमौसमी च्याउ खेतीका लागि घरको दुईवटा कोठालाई चिसो बनाइराख्न एयर कन्डिसनसमेत जडान गर्ने सोच उनी छिन ।