काठमाडौं । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो ।

विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ । चार÷पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन् केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत डा केशव भट्टले जानकारी दिए । नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्लसुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा भट्टले जानकारी दिए । अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उनको विश्वास छ ।