हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईले कृषिमा अनुदानको सट्टा कृषि उत्पादन गर्ने कृषकलाई प्रोत्साहन दिने बताएका छन् ।

हेटौंडामा आयोजित कृषि पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले किसानलाई अब अनुदान होइन, प्रोत्साहन गर्ने योजना रहेको बताए । किसानलाई ऋण, मल, बिउ बिजन, प्रबिधि दिने हो, अब किसानलाई अनुदान होईन, किसानलाई प्रोत्साहन गर्ने उनको भनाई छ । किसानहरुको बर्गीकरण गरेर अबको तीन महिनाभित्र सबै किसानलाई किसान परिचयपत्र समेत बितरण गर्ने योजना रहेको उनले बताए ।

उनले वास्तविक किसानका नाउमा टाठाबाठाहरुले मन्त्रालयका कर्मचारी, प्राविधिक संग मिलेर अनुदान लाने र त्यसको दुरुपयोग गर्ने गरेकाले वास्तविक किसान सधैं ओझेलमा पर्ने गरेको प्रति चिन्ता व्यक्त गरे । उनले वास्तविक किसानले कृषि मन्त्रालयबाट पाउने अनुदान तथा प्रोत्साहन पाउनुपर्नेमा आफु सधैं सजग रहेको प्रतिक्रिया दिए ।

उनले मन्त्रालयका कमजोरीलाई औल्याउदैं सबल पक्षको समाचार लेखी मन्त्रालयले गरेका कामहरु किसान समक्ष पु¥याउन अनुरोध गरेका छन् । प्रदेशको समग्र कृषि क्षेत्रलाई कसरी विकास गर्ने भनी मन्त्रालयले तयार पारेको किसान लक्षित मार्ग चित्र भित्रका योजनालाई कार्यान्वयन तर्फ लागि रहेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले वडावडामा प्राविधिक, ल्याब सञ्चालन, थोक बजार केन्द्र निर्माण, प्राङ्गारिक मल प्रयोगमा कार्ययोजना, कोल्ड च्याम्बर निर्माणका साथै गतवर्षकै प्रति लिटर दुध अनुदान कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम सुरु गरिने बताए । कार्यक्रममा मन्त्रालयका प्रवक्ता एंव बरिष्ठ कृषि प्रसार अधिकृत झलकनाथ कंडेलले मन्त्रालयले आव २०७९/०८०को कार्ययोजनाहरु प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट,महासंघका पुर्व अध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारी लगायतकाको उपस्थिती रहेको थियो ।