अभिनेता पल शाहलाई थुनामा राख्ने र कृष्ण जोशीलाई छाड्ने आदेश सँगै राखेर पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

बिहीबारको सुनुवाइपछि न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले कृष्ण जोशीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध पनि सरकारले उच्च अदालतमा निवेदन दिएकाले दुवै निवेदनलाई सँगै राखेर पेश गर्न आदेश दिएको हो ।

अर्को पेशी आगामी बिहीबारका लागि तोकिएको छ । पल शाहले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने दुवै अदालतको आदेश बदर गरी थुनामुक्त गरी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका छन् । यस्तै जिल्ला अदालत तनहुँले एक लाख रुपैयाँ धरौटीमा छाडेका पलका म्यानेजर कृष्ण जोशीविरुद्धको आदेश बदर गरी उनलाई पनि थुनामा पठाउन माग गर्दै सरकारी वकिल कार्यालयले निवेदन दिएको थियो । पल शाहलाई छाड्न माग गरिएका दुवै निवेदन र कृष्ण जोशीलाई पनि थुनामा राख्नुपर्ने निवेदन सँगै राखेर हेर्न आदेश दिएको हो ।

बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालतमा निवेदन दिएका हुन् । तनहुँ अदालतले गरेको आदेशविरुद्ध गत चैत १८ गते र नवलपरासी पूर्वको आदेशविरुद्ध वैशाख १३ गते निवेदन दिएका थिए ।

गत साता पनि यो मुद्दामा उच्च अदालतमा सुनुवाई भएको थियो । तर दुवै अदालतको आदेशविरुद्ध छुट्टाछुट्टै निवेदन परेकाले दुवै अदालतको आदेशविरुद्धका निवेदनलाई सँगै पेश गर्न आदेश भएको थियो । आज दुवै मुद्दा एकसाथ पेश गरिएको थियो ।

आफूलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने पलको माग छ । नाबालिग पीडितले पनि अहिले बयान फेरिसकेकी छन् । जसले पल थुनामुक्त हुने सम्भावना बढाएको छ । यसअघि जाहेरीमा पलले बलात्कारको आरोप लगाए पनि पीडित नाबालिग र जाहेरवाला उनका बुबाले पनि बलात्कार नभएको बयान दिएका छन् ।

पीडितले नै झुटो जाहेरी दिएको बताएपछि पललाई थुनामुक्त गर्नुपर्ने उनी पक्षको माग छ। यसअघि दुवै जिल्ला अदालतमा पल शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै दुवै अदालतमा मुद्दा दर्ता भएका छन् ।