हेटौंडा । हेटौंडामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा जेठ १९ गतेदेखि २८ गतेसम्म चौथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएको हो ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा एक विदेशीसहित दशवटा क्लबहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा करिब १ करोड १७ लाख खर्च अनुमान गरिएको छ । प्रतियोगितामा हेटौंडाको विजय युथसहित ए डिभिजन र मोफसलका चर्चित क्लबहरुले सहभागिता जनाउनेछन् । प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदको व्यवस्था समेत गरिएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद दशहजार रुपैयाँ प्रदान गरिने छ ।