हेटौंडा । हेटौंडामा यहि जेठ १९ गतेबाट चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता हुने भएको छ । हेटौंडाको पिप्ले रंगशालामा हुने प्रतियोगितामा स्थानीय,राष्ट्रिय र अन्तराष्ट्रिय क्लब गरेर १२ टिमको सहभागिता रहने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघका सल्लाहकार एवं प्रतियोगिताका संयोजक प्रताप विष्टले फुटबल प्रतियोगिता यहि जेठ १९ गतेबाट ३० गतेसम्म रहने जानकारि दिए । उनले गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले यसवर्षबाट विजेता र उपविजेता टोलिको लागि पुरस्कार राशि बढाईएको बताए । यसवर्ष प्रतियोगिताको विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने बताए । यसअघि,भएको तेस्रो गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख हात पारेको थियो ।

यसैगरि,प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने बताए । त्यस्तै विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगतामा मनाङ मर्स्याङदी क्लब, खुमलटार युवा क्लव, नेपाल पुलिस क्लब, वागमती युवा क्लब सर्लाही, नवजन जागृति युवा क्लब सिमरा, विजय युथ क्लब हेटौडा, नेपाल आर्मी क्लव, फ्रेण्डस् क्लब, सशस्त्र प्रहरी क्लब, वि.एफ.सि. चितवन, चर्चव्वाईज क्लब र अन्तर्राष्ट्रिय क्लव एनिनियर एफसी क्यामरुनको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितालाई मकवानपुरको १० वटै स्थानीय तहले आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख,थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउँपालिकाहरुले ५र५ लाख सहयोग गरेका छन् । प्रतियोगिता हेर्नको लागि पहिलो चरणको खेलमा एक सय, सेमिफाइनलमा दुई सय र फाइनलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ ।