हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले एसईईमा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरेका छन् । उनले वडाअध्यक्ष भएवापत पाउने आफ्नो पारिश्रमिक वापतको एक महिनाको रकम उपहार स्वरुप विद्यार्थीहरुलाई प्रदान गरेका हुन् ।

महेन्द्र ज्योतीबाट सर्वोत्कृष्ट नतिजा ३.१० जिपिए प्राप्त गर्न सफल प्रिन्सा पौडेललाई नगद रु १० हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी २.९ जिपिए प्राप्त गर्न सफल निकिता तिमल्सीना र स्वस्तीका बर्तौलालाई क्रमश ४÷४ हजार नगदसहित सम्मान गरिएको थियो ।

आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई थप प्रेरणा र हौसलाका साथ पठनपाठन यात्रा अघि बढोस् भन्ने अभिप्रायले आफ्नो एक महिनाको पारिश्रमिक उपहार दिइएको वडाअध्यक्ष अर्यालको भनाई छ ।

उपहार हस्तान्तरण कार्यक्रममा विद्यालयमा ४३ वर्ष शिक्षकका रुपमा अवकाश भएका नरहरी नन्दन उप्रेती, वडासदस्य हिरा बहादुर प्रजा, वडा सचिव दिपेश महत्तो लगायतले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम महेन्द्रज्योती माविका सहायक प्रधानाध्यापक विदुर थापाको सभाध्यक्षतामा भएको थियो ।