हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता जनाएका छन । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा गाउँपलिकाको समन्वयमा बिहीबार गाउँपालिकामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार र अनियमितताप्रति आफू निकै सचेत रहेको भन्दै गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाइने प्रतिवद्धता जनाएका हुन ।

अध्यक्ष कालाखेतीले गाउँपालिकाको केही कमी कमजोरीहरु भए औंल्याइदिन आग्रह गर्दै सच्चिएर अघि बढ्न तयार रहेको बताए । ‘पत्रकार र पत्रकार महासंघसँग संस्थागत समन्वय गरेर काम गर्न म तयार छु ।’ अध्यक्ष कालाखेतीले भने–‘मेरो कार्यकालमा कति राम्रो काम गर्नसक्छु थाहा छैन, तर नराम्रो चाहिँ म गर्दै गदिनँ ।’

उनले आफू पत्रकारिता क्षेत्रको प्रवद्र्धन र विकास गर्न प्रतिवद्ध रहेको बताए । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा गाउँपलिकाको समन्वयमा बिहीबार गाउँपालिकामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले स्थानीय पत्रकारलाई प्राथमिकता दिँदै स्वरोजगारमुलक मिडियाहरुको प्रवद्र्धनमा ध्यान दिने बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरिरहेका कामहरु र आगामी वर्षको योजना र कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा मनहरी ९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र मनहरी ३ का वडाध्यक्ष अनन्त अर्यालले वडागत विकास निर्माणको अवस्था र पत्रकारिता क्षेत्रबाट गरिएको अपेक्षाहरुबारे धारणा राखेका थिए ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पदाधिकारी तथा सदस्य साथै मकवानपुरमा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।