हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरूमा मनहरी गाउँपालिकाभित्र रहेका १७ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका १८ जना प्रधानाध्यापक छन् । प्रधानाध्यापकले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको पत्रमा उल्लेख गरिएको छ ।

‘हामी कार्यरत प्रअहरूको कस्तो दोष र कसुरमा दण्डित हुनुपर्ने हो ? सहमतिविपरीतको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूलाई काम गर्ने मनोबल समेत कमजोर भइरहेको परिस्थिति छ,’ राजीनामापत्रमा उल्लेख छ ।

विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण प्रधानाध्यापकहरूको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको एक प्रधानाध्यापकले बताए । उनले पालिकाले विद्यालय सुधारका लागि योग्य, सक्षम र क्षमतावान् शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न सकोस भनेर आफूहरूले राजीनामा दिएको बताए ।

प्रधानाध्यापकहरूले लिखित रुपमा हस्ताक्षरसहित राजीनामा दिएका छन् । उनीहरुले पालिकाले विद्यालयको गुणस्तर सुधारका लागि गर्नु पर्ने अन्य काम भन्दा प्रधानाध्यापकहरुको सरुवा गर्नतिर लागेको आरोप लगाएका छन् ।

‘विद्यालयका शिक्षकहरूको क्षमता विकास, शिक्षण सिकाइमा प्रविधिको प्रयोगतर्फ पालिकाले काम गर्नुपर्ने थियो तर पालिका अनावश्यक राजनीति गर्नतिर लागेको छ । यसले पालिकाको शैक्षिकस्तर झनै ओरालो लाग्छ,’ नाम नबताउने सर्तमा एक शिक्षकले भने ।

उनले प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने नछाड्ने बताए। ‘हामीले प्रअबाट मात्रै राजीनामा दिएका हौँ । पढाउन छोडेका छैनौँ। त्यसकारण पालिकाले जुन विद्यालयमा सरुवा गरेपनि आफूहरुको काम पढाउने भएकाले त्यहाँ गएर पढाउँछौँ,’ उनले भने ।

यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए । उनले शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे । ’अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो। हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ । प्रधानाध्यापकहरुलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौ । वहाँहरुले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ,’ अध्यक्ष कालाखेतीले स्पष्ट पारे।

पालिकाको शिक्षा क्षेत्र सुधारका लागी पालिकाले शिक्षकहरुलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पु¥याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए । ‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवस्यक छ । यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो । सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ। तर, कसैले मान्दिन भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौँ,’ अध्यक्ष कालाखेतीले भने । नयाँ पत्रिकाबाट