हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बालअधिकार समितिका पदाधिकारीहरुलाई गुनासो सुनुवाई संयन्त्र,समुदायमा आधारित अनुसन्धान कार्यको प्रतिवेशन र बालश्रमको प्रोसेस ट्रेसिङ सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ ।

ग्रामीण महिला स्वाबलम्बन संस्था (जिएमएसएस) मकवानपुरको आयोजनामा गाउँपालिकाको वडा नंबर २ शिखरकटेरीमा आजबाट सुरु भएको कार्यक्रममा विश्व शिक्षा नेपालले सहजिकरण गरेको छ ।

अभिमुखिकरण कार्यक्रमको पहिलो दिन आज गुनासो सुनुवाई संयन्त्रबारे जानकारी, बालबालिका र बालश्रमको गुनासोलाई सुनुवाई कसरी सम्बोधन गर्ने, गुनासो संयन्त्रलाई कसरि प्रभावकारी बनाउने, संयन्त्रबाट के के फाईदाहरु हुन्छन् र गुनासो सुनुवाई संयन्त्र कसरी बनाउने तथा बालअधिकार समितिको काम कतव्य र अधिकार लगाएतको विषयमा छलफल गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा तीन वटा समूहहरु बनाएर बालअधिकार,बालश्रम र गुनासो सुनुवाई संयन्त्रको विषयमा समूहगत छलफल समेत गरिएको थियो ।

ग्रामीण महिला स्वाबलम्बन संस्था मकवानपुरको अध्यक्ष हर्कमाया रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा विश्व शिक्षा नेपाल,काठमाण्डौका कार्यक्रम निर्देशक रुपश्री जोसीको प्रमुख आतिथ्यता रहेको थियो । भोलिसम्म सञ्चालन हुने तालिमको सहजिकरण विश्व शिक्षा नेपालका वरिष्ठ तालिम अधिकृत तुलबहादुर बाँनिया गरेका छन् ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका शिक्षा शाखाका अधिकृत राम बहादुर घलान,स्वास्थय ईकाइ प्रमुख धुर्वप्रसाद लामिछाने, जिएमएसएस मकवानपुरका व्यवस्थापक सोमबहादुर स्याङ्तान लगाएत गाउँपालिकाका बालअधिकार समितिका पदाधिकारीको सहभागिता रहेको छ ।

विश्व शिक्षा नेपालले देशको ३ प्रदेशका १६ वटा जिल्लाहरुमा बालश्रम न्युनिकरणका लागि राष्ट्रिय गुरुयोजना अन्तर्गत ३ वर्षे कार्यक्रम गरिरहेको वरिष्ठ तालिम अधिकृत तुलबहादुर बाँनिया जानकारी दिए । उनले बागमती प्रदेशको मकवानपुर,काठमाण्डौ,लतिलपुर,भक्तपुर,धादिङ,सिन्धुपाल्चोक,मधेश प्रदेशको सप्तरी,धनुषा,महोत्तरी,सलार्ही,रौतहट र लुम्बिनी प्रदेशको बाँके,बर्दिया,दाङ,रोल्पा,कपिलबस्तुमा बालश्रम न्युनिकरणको लागि नागरिक समाजलाई क्षमता अभिवृद्धि गर्न सचेतनामूलक कार्यक्रमहरु गर्न विश्व शिक्षा नेपालले सहयोगी भूमिका निर्वाह गरिहेको बताए ।