हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष आइत सिं लोले सडक नभएको अवस्थामा घर घरमा सडक पुर्‍याएको बताएका छन । उनले स्थानीय निकायको जनप्रतिनिधि निर्वाचित भएर आएपछि वडामा सडकका लागि ट्रर्‍याक खोल्ने, स्ल्याव ढलान गर्ने र पुल निर्माण गर्ने कार्य गरेको बताए ।

अनिरुद्र खबर संग कुराकानी गर्दै उनले पाँच बर्षको अवधिमा वडाको मुहार फेर्न आफु लागि परेको बताए । उनले निर्वाचनका बेला घोषणा पत्रमा गरेको प्रतिवद्धता भन्दा बढी काम गरेको बताए । उनले जनताले आफ्नो कामको मुल्याङकन गरेको सुनाए ।

टुँकी बत्ति र सोलारको भरमा बस्नु परेको पीडा पनि हटेको छ अहिले यस वडामा । फलामे पोल सहित अहिले घर घरमा बिजुली बत्ति पुगेको छ । वडाको करिव ९० प्रतिशत घरमा बिजुली पुगेको छ । भौगोलिक विकटता धेरै रहेको यस वडामा खानेपानी पुर्‍याउने काम पनि निरन्तर भईरहेको छ ।

यस वडा कोदो खेतीको पकेट क्षेत्र पनि हो । यस वडामा नगदेवालीहरु अदुवा, बेसार, गेडागुडी र अम्रिसो खेती हुने गरेको छ भने बाख्रा पालनमा यहाँका अधिकांश मानिस आश्रित छन । वडाले कृषिका लागि प्राविधिक सहयोग र अनुदान पनि मिलाएको वडा अध्यक्ष लोले बताए ।

आपटार सामुदायिक स्वास्थ्य इकाइ मार्फत अहिले वडावासीहरुले सहज रुपमा स्वास्थ्य सेवा पाएका छन । सामान्य स्वास्थ्य सेवाका लागि हेटौंडा, हर्नामाडी र शिखरकटेरी पुग्नुपर्ने बाध्यता हटेको छ । वर्थिङ सेन्टर सहित संचालनमा रहेको यस स्वास्थ्य इकाइमा यस वडाका प्रत्येक गर्भवती, सुत्केरी र बाल बच्चाहरुलाई खोप उपलब्ध गराइएको छ ।

यस वडामा धाप, रानीशेरा, बेलघारी, रानीवास, फुलवारी, पिङडाँडा, डाँडा गाउँ लगायतका प्रमुख स्थानहरु रहेका छन । एतिहासिक रत्नदेवी मन्दिर र सन्तानेश्वर महादेव मन्दिर पनि यसै वडामा अवस्थित छ । पर्यटनको विकासका लागि यस वडामा एग्रो टुरिजम पार्क पनि रहेको छ ।

यस बर्ष १ करोडको सिलिङ बजेट रहेको यस वडामा बुदुने खोला, आरुवारी अम्वाटार जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको छ भने वडा नम्बर १ र बकैया ४ जोड्ने सिमात खोलाको पुलको सम्झौंता भएको वडा अध्यक्ष लोले बताए । तामाङ समुदायको बाहुल्यता रहेको यस वडामा करिव ६ सय घरधुरी रहेका छन । यस वडामा ५ वटा बिद्यालय छ । वाग्मती प्रदेशको राजधानी हेटौंडा संगै जोडिएको यस वडा मकवानपुरगढी गाउँपालिकाका वडा मध्ये कै भौगोलिक विकट, दुर्गम वडा हो ।