हेटौडा । निर्वाचन आयोगको बागमती प्रदेश कार्यालय हेटौँडाले मकवानपुरमा मतदाता नामावली अद्यावधिक गर्ने भएको छ।
मतदाता नामावलीमा हुने त्रुटि न्यूनीकरण गर्न प्रदेश निर्वाचन कार्यालयले यस जिल्लामा वडास्तरमै पुगेर नामावली अद्यावधिक गर्ने भएको हो।
आयोगको प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जिल्लाका सबै वडाबाट मतदाता नामावलीमा दाबीविरोधसहित अद्यावधिक गर्ने कार्य यही फागुन २२ बाट आगामी चैत १ सम्म सञ्चालन गर्ने योजना रहेको जनाए ।
आगामी आइतबार जिल्लाका १०२ वटै वडामा मतदाता नामावली अद्यावधिकसम्बन्धी सूचना प्रकाशन र मतदाता नामावली प्रकाशन गरिने बताउँदै उहाँले मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र कसैले झुटा विवरण दिएर मतदाता नामावलीमा नाम दर्ता गरेको भए उजुरी दिनसकिने गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम तय गरिएको छ।
त्यसैगरी एकभन्दा बढी स्थानमा मतदाता नामावलीमा नाम भएमा हटाउने, मतदाताको मृत्यु भएको, नागरिकता त्यागेको, बसाइँसराइ गरेको भए नाम दर्ता अधिकारीले हटाउनका लागि प्रदेश निर्वाचन कार्यालयमा पठाउनुपर्ने पोखरेलले बताए ।
उनका अनुसार मतदाता नामावलीका दोहोरो परेको भएमा, त्रुटि सच्याउनुपर्ने वा नाम बिग्रेको भए वडाबाटै गर्न सकिने गरी व्यवस्था गरिएको छ। मतदाता नामावली अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन कार्यालय र पालिकाहरूलाई दिइएको छ। पालिकाबाट हरेक वडामा रहेका कम्प्युटर अपेटरको जिम्मेवारी पाएका कर्मचारीले नै मतदाता अद्यावधिक फोकल पर्सनका रूपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको छ। मतदाता नामावलीमा अद्यावधिक गरी वडाबाट पालिका हुँदै कार्यालयमा आगामी चैत १ गते नै पठाउनुपर्ने व्यवस्था गरिएको कार्यालय प्रमुख पोखरेलले बताए । गाेरखापत्रबाट












प्रतिक्रिया दिनुहोस्