हेटौडा । विभिन्न कसुरमा अभियोग लागेका वा अदालतले फैसला गरेका बालकलाई आश्रय दिन स्थापना गरिएको बाल सुधारगृह आफैँ सुधारको पर्खाइमा रहेको छ।
बालकको आनीबानी र व्यवहारमा सुधार गर्न स्थापना गरेका बाल सुधारगृहहरूले भौतिक पूर्वाधारलगायतको अभाव रहेको छ।
जसका कारणले बालकहरू न्यूनतम अधिकार र सुविधाबाट वञ्चित हुँदै आएका छन्। देशभरमा सञ्चालित आठ बाल सुधारगृहमध्ये बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालित सुधारगृहले पूर्वाधार अभावलगायतका राज्यले नै तोकेका अधिकार र सुविधा बालकलाई उपलब्ध गराउन सकेको देखिँदैन।
सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको बाल सुधारगृह हेटौँडामा पूर्वाधार अभाव भए पनि क्षमताभन्दा झन्डै दोब्बर बालक बस्न बाध्य छन्। ३५ जना क्षमता रहेको हेटौँडा बाल सुधारगृहमा हाल ६८ जना बालक आश्रित छन्।
हेटौँडास्थित बाल सुधारगृह अन्यत्रका सुधारगृहले बालकको चाप थेग्न नसकेपछि आश्रयस्थलमा समेत परिणत भएको छ। हेटौँडामा इलामदेखि नवलपरासीसम्मका बालक आश्रित रहेको बाल सुधारगृहले जनाएको छ।
सुधारगृहमा १८ वर्षमुनिका विभिन्न अभियोग लागेका र फैसला भएकालाई राख्नुपर्ने प्रावधान भए पनि फैसलामा हुने ढिलाइसँगै १७ वर्ष ११ महिनामा पनि कुनै अभियोग लागेर वा अदालतबाट फैसला भएर आएकाहरूका कारण हेटौँडा सुधारगृहमा १४ वर्ष उमेर पुगेका बालकदेखि २२ वर्षसम्मका रहेका छन्।
सुधारगृहका निमित्त प्रमुख प्रदीप गौतमले सुधारगृहमा मधेश प्रदेश र कोशी प्रदेशमा बाल सुधारगृहमा बालकको चाप बढेपछि यहाँ पठाउने गरेको जानकारी दिए। उनले बाल सुधारगृहमा रहेका १८ वर्षभन्दा माथिका उमेर पुगेकालाई अन्य कारागारमा पठाउने प्रावधानको अभावमा हेटौँडामा बालकहरूको चाप बढेको बताए।
मधेश प्रदेशको वीरगञ्जमा मन्त्रालयबाट सञ्चालित सुधारगृहमा ६० जनाको क्षमता रहेको क्षमताभन्दा दोव्बर अर्थात् १३० जना पुगेपछि मधेश प्रदेशबाट समेत हेटौँडामा बालक राख्न पठाउँदा यहाँ क्षमताभन्दा चाप बढेको हो।
उनले भने, बाल सुधारगृहमा बालकको चाप बढेसँगै असहजता छ, समस्या छ, राख्नै पर्ने बाध्यता पनि छ। पूर्वाधार अभाव र अर्को व्यवस्था नभएकोले क्षमताभन्दा बढी बालक राख्नुको विकल्प छैन। पहिले १६ वर्ष उमेरसम्मका बालकलाई राख्ने कानुनी व्यवस्था हुँदाको संरचनामा अहिले परिवर्तन भई १८ वर्ष पुगेका बालक राख्ने नयाँ व्यवस्थाका कारण पनि बाल सुधारगृहमा चाप बढेको उनको भनाइ छ।
२०७५ सालमा स्थापना भएको हेटौँडा बाल सुधारगृहमा बालकका लागि खाने, बस्ने, कपडा, स्वास्थ्य उपचार, खेल्ने, बाल गृहभित्रै परीक्षा दिनेलगायतका व्यवस्था भए पनि औपचारिक शिक्षाबाट भने वञ्चित रहेका छन्। गौतमले भने “बजेट र शिक्षक अभावसँगै अध्यापन गराउन आवश्यक विद्यार्थीको सङ्ख्या नपुग्ने भएकाले पनि सुधारगृहमा रहेका बालकलाई अध्ययन गर्न शैक्षिक संस्था छैनन्, औपचारिक शिक्षा छैन, विद्यालयका लागि पहल भइरहेको छ।’’
सामान्य लेखपढ गर्नेदेखि ११ कक्षासम्म पढ्ने सुधार गृहमा छन्। हेटौँडा उपमहानगरपालिकाले शिक्षक व्यवस्था गरिदिने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै व्यवस्था भएको छैन। उनले सुधार गृहमा आएका कतिपय बालकलाई अहिले सामान्य लेखपढ गर्न सिकाएर हस्ताक्षर गर्न सक्ने बनाइएको बताउँदै सुधारगृहमा पुस्तकालयसँगै स्वअध्ययनको व्यवस्था गरिएको जानकारी दिए ।
सुधारगृहमा रहेकामध्ये ३३ जना बालकको मुद्दा अदालतबाट फैसला भएको र ३५ जना पुर्पक्षका लागि अदालतले थुनामा पठाएका छन्। सुधारगृहमा एक महिनाअघिसम्म २७ जना १८ वर्षभन्दा माथि उमेरका रहेका थिए।
हेटौँडा बालक सुधारगृहमा हाल सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका ४२ जना बालक रहेका छन्। यस्तै डाँका–चोरी मुद्दाका आठ जना, सवारी ज्यान र कर्तव्य ज्यान मुद्दाका तीन/तीन जना र लागूऔषध मुद्दाका पाँच, चोरी मुद्दाका चार, अप्राकृतिक मैथुन मुद्दाका दुई जना र शरीर बन्धक, अपरहण मुद्दाका एक जना बालक सुधारगृहमा आश्रित छन्। गाेरखापत्रबाट












प्रतिक्रिया दिनुहोस्