हेटौंडा । मकवानपुरको पूर्वी ग्रामीण क्षेत्र बकैयाको हात्तीसुँडेमा बहुमुखी क्याम्पस स्थापना गर्न पहल थालिएको छ । बकैया गाउँपालिका वडा नं. ३ मा रहेको बुद्ध माध्यामिक विद्यालयलाई बहुमुखी क्याम्पस बनाउने पहल थालिएको हो ।

विद्यालयलाई बहुमुखी क्याम्पस बनाउने उदेश्यसहित आगामी पुस १० देखि १८ गतेसम्म श्रीमद्भागवत महायज्ञ हुने भएको छ । ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८०’ मा कथाशिरोमणि पण्डित दीपककुमार पौडेलले कथा वाचन गर्नुहुनेछ ।

बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले बुद्ध माविमा क्याम्पस सञ्चालन गर्न पहल थालिएको बताउँदै ग्रामीण क्षेत्रका विद्यार्थीले सहज उच्च शिक्षा पाउने विश्वास व्यक्त गरे । उनले बकैया, बागमती र सिन्धुलीका विद्यार्थीलाई पनि हात्तीसुडँेमा क्याम्पस सञ्चालन गर्न सकिए उच्च शिक्षा अध्ययन गर्न अन्त जानुपर्ने बाध्यता हट्ने बताए ।

धरान चतरा सडक सञ्चाल निर्माण भएसँगै ग्रामीण क्षेत्रबाट बिद्यार्थीहरु बुद्धमाविमा अध्ययन गर्न आउने वातावरणको सिर्जना भएकाले क्याम्पस सञ्चालनको पहल थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराचन्द्र बजगाईं निशानले बताए । ‘पूर्वी क्षेत्रमा एउटा पनि क्याम्पस छैन, क्याम्पस पढ्न हेटौँडा नै जानुपर्ने बाध्यता छ,’–अध्यक्ष बजगाईंले भने । बुद्ध माविमा एकहजार दुईसय विद्यार्थीहरु अध्ययनरत हुनुहुन्छ । तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रको बागमती र बकैया गाउँपालिकामा क्याम्पस नहुँदा उच्च शिक्षा अध्ययनका लागि हेटौंडा नै जानुपर्ने बाध्यता छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धता
बुद्ध माविलाई बहुमुखी क्याम्पस बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धता जनाएका छन । उच्च शिक्षा सञ्चालनार्थ नेपाल सरकारको तर्फबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिवद्धता जनाए । महायज्ञको शुभकामना दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको विकास र स्तरोन्नतीको लागि हुने महायज्ञको सफलताको कामना ब्यक्त गर्नुभएको छ । शुभकामना सन्देश दिँदै उनले महायज्ञलाई सहयोग तथा अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धता जनाए ।

देशको शैक्षिक, भौतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै २१ औं शताब्दीको प्रतिस्पर्धात्मक युगमा राष्ट्रिय विशेषता र अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गरी दक्ष, प्राविधिक एवं बहुआयमिक व्यक्तित्वसहितको जनशक्ति निर्माण राष्ट्रिय कार्यभार बन्न आएको छ उल्लेख छ ।

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवहारिक कार्यान्वयनका निम्ति नेपाल सरकारले आवश्यक कानुन निर्माणको पहल लिइरहेको शुभकामना सन्देशमा उल्लेख छ । विद्यालय शिक्षा विधेयक पारित गरी संविधानले व्यवस्था गरेको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनमा सरकार गम्भीरतापूर्वक अगाडि बढेको सन्देशमा भनिएको छ ।