हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित भुन्द्रुङ टाँडीमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम भएको छ । शनिबार विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमका साथ ल्होछार पर्व मनाइएको हो ।

मनहरी एकता तामाङ समाजका अध्यक्ष अर्जुन घलानको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कालाखेतीले मनहरी गाउँपालिकामा वौद्ध धर्मावलम्बीहरुको संख्यात्मक उपस्थिति बढी रहेको भन्दै गुम्बा निर्माणलगायत तामाङ भाषा, संस्कृति संरक्षणमा प्रयाप्त बजेट विनियोजन गरिरहिएको बताए

गाउँपालिकामार्फत तामाङ समुदायको पहिचान स्थापित गर्नका लागि लगानी बढाउन तत्पर रहेको उनले सुनाए । कृषि, शिक्षा, स्वास्थ्यमा गाउँपालिकामार्फत प्रयाप्त काम गरेको उनको भनाइ थियो । गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तरगत गरिब परिवारका कयौं विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गरिरहिएको अध्यक्ष कालाखेतीले बताए ।

कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ पूर्व महासचिव काजीमान थिङले आफ्नो अस्तित्व प्राप्तिका लागि तामाङ समुदाय एक हुनुपर्ने धारणा राखे । तामाङको भेषभुषा, भाषा, संस्कृतिको संरक्षण गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय गायक तथा कलाकारले गीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । चर्चित कलाकार बुद्धि तामाङ, हुरहुरलगायतले दर्शकमाझ मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।