हेटौंडा । हेटौंडा–४ मा शनिवार प्रेस सेन्टर मकवानपुरको कार्यालय उद्घाटन गरिएको छ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कार्यालयको औपचारिक उद्घाटन गरेकी हुन् ।

सो अवसरमा मन्त्री मुक्तानले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन प्रेस जगतको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले पत्रकारिता क्षेत्र सबल र सक्षम भए मात्रै मुलुकमा शान्ति, स्थायित्व र सुशासनको स्थापना हुने बताइन् । पछिल्लो समय पत्रकारिता पेशा नै संकटमा परिरहेको भन्दै उनले आमसञ्चार र पत्रकारिता क्षेत्रको हितका लागि बागमती प्रदेश सरकारको तर्फबाट सहयोग समन्वय गर्न तयार रहेको बताइन् ।

त्यस्तै बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले प्रेस सेन्टरको कार्यालय स्थापना भएसँगै संगठनको कामका साथै समाचार लेखन तथा पत्रकारको जमघट र अनुभव आदानप्रदान गर्ने थालेको रूपमा विकास गर्न सुझाव दिए । उनले कार्यालय स्थापना भएपछि छरिएर काम गर्दै आएका पत्रकारले एक ठाउँमा भेला भएर काम गर्ने वातावरण बनेको बताए ।

सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका सचिव बीरबहादुर घलान ज्वाला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमतीका महासचिव कृष्ण सारु मगर, प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज ढोडारी, समाजवादी प्रेस संगठनका केन्द्रीय महासचिव रामकुमार एलन लगायत विभिन्न संघ संगठनका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसीले सहजिकरण गरेको कार्यक्रममा आजदेखि सुरु भएको २०८१ सालको अवसरमा एकअर्कामा शुभकामना आदानप्रदान गरिएको थियो ।