हेटौंडा । बागमती प्रदेशमा ४६ जना औलो (मलेरिया) रोगीहरु रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । आर्थिक बर्ष २०७९÷८० को तथ्याङ्क अनुसार आयातित ४५ र स्थानीय एक गरी प्रदेशमा ४६ जना औलो रोगी रहेको तथ्य सार्वजनिक गरिएको हो ।

औंलो बिरुद्धको लडाइलाई तिब्रता दिऔं, समतामूलक पहुँचको सिर्जना गरौँ भन्ने मूल नाराका साथ विश्व औलो (मलेरिया) दिवसको अवसरमा पारेर हेटौँडामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सो तथ्य सार्वजनिक गरिएको हो । जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार आव २०७९-८० मा काठमाडौँमा १७, चितवनमा ११, ललितपुर, सिन्धुली ५-५ र दोलखामा २ जना औलो रोगी रहेका छन । त्यस्तै प्रदेशका रामेछाप, सिन्धुपाल्चोक, भक्तपुर, धादिङ, मकवानपुर र रसुवामा एकएक जना औलोरोगी रहेको तथ्याङ्क छ भने काभ्रेपलाञ्चोक र नुवाकोटमा शुन्य छ ।

बागमती प्रदेशमा आव २०७६÷७७ मा २२, ७७÷७८ मा ५, ७८÷७९ मा ३३ जना औलो बिरामी फेला परेका थिए । सरकारले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त बनाउने लक्ष्य लिएको छ ।

‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाच वर्षमुनिका बालबालिका धेरै छन् । नेपालमा पनि औलो रोगका कारण गत वर्ष ५४१ जना प्रभावित बनेका थिए । विशेषगरी, खुला बोर्डरका कारण झण्डै ४५ प्रतिशतको हाराहारीमा भारतबाट भित्रिने यो रोग संक्रमिट लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ ।

यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् । संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ । यो रोगको नेपाल सरकारबाट निशुल्क उपचार हुन्छ ।