हेटौंडा । चौंथो र पाँचौ तहको तीन महिने लोकसेवा तयारी कक्षा शनिवार हेटौंडामा समापन भएको छ । विकासका लागि अभियान नेपाल मकवानपुरको आयोजना एव्म हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको लोकसेवा तयारी कक्षा समापन गरिएको हो ।

समापन कार्यक्रमलाइ सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाले तयारी राम्रो सँग गरेर नाम निकाल्नेगरी परीक्षामा लाग्न आग्रह गरिन् । उनले सरकारी सेवामा प्रवेश गरेर भविष्य सुरक्षित गर्नका लागि कडा मेहनत र परिश्रम गर्न आग्रह गर्दै सरकारी सेवामा हेटौंडाको पनि बाक्लो उपस्थिती हुन सक्नेगरी अध्ययन गर्न जोड दिइन् । उनले पछिल्लो समय विदेशीनेक्रम बढ्दो भएकाले सरकारले नै विभिन्न तहमा रोजगारीको सिर्जना गरिरहेको स्मरण गराइन् । उनले नगरपालिकामा पनि धेरै अवसरहरु भएकाले लोकसेवाबाट नाम निकालेर हेटौंडामा काम गर्न आउन आग्रह गरिन् ।

माघ १२ गतेबाट सुरु भएको लोकसेवा तयारी कक्षामा नगरका ६० बढी बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । कृष्ण पोखरेल, ठाकुरराम भण्डारी र सुमन ढकालले लोकसेवा तयारी कक्षामा प्रशिक्षण दिएका थिए । नेपाली, लिखित पत्र, सामान्य ज्ञान र बौद्धिक परीक्षण लगायतका बिषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो । लामो समयदेखि विकासका लागि अभियान नेपालले जिल्लाका विभिन्न स्थानमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आईरहेको छ ।

विकासको लागि अभियान नेपाल मकवानपुरका अध्यक्ष सन्तोष पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा निर्देशक भिमप्रसाद तिमल्सिना, नवराज पाैडेल लगायतकाको सहभागिता रहेको थियो ।