हेटौंडा । उत्तरी मकवानपुरको थाहानगरमा चित्लाङ थानकोट सडकखण्डमा सडक मर्मतको काम गर्दै गरेको लोडरमा च्यापिएर शनिवार दिउँसो हेल्परको मृत्यु भएको छ ।

दिउँसो ३ बजेर १५ मिनेटको समयमा थाहा नगरपालिका वडा नं. ९ ठुलोचौरमा काठमाण्डाै सडक डिभिजनको आर डि १०१–०३८ नम्बरको लोडर पल्टिदा सहचालक नुवाकोट लिखु गाउँपालिका वडा नं. ६ घर भएका २८ वर्षीय सागर भण्डारीको ज्यान गएको हो ।

ग्राबेल सम्याउने क्रममा उक्त लोडर आफैं अनियन्त्रित भई पल्टिएर च्यापिदा हेल्पर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ । लोडर तथा चालक ललितपुर गोदावरी नगरपालिका वडा नं. १२ बस्ने ५६ बर्षिय धर्म भक्त महर्जनलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पालुङमा पठाइएको छ ।