हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा भएको दुईदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार सकिएको छ । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा हेटौँडामा सुरक्षा गोष्ठी भएको हो ।
सुरक्षा गोष्ठीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश भित्रको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई मजबुत बनाउन र सरकारका प्रयासलाई नागरिक सरोकारका विषयमा केन्द्रित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्रवाहलाई थप सहज बनाउन गोष्ठी महत्त्वपूर्ण कोशेढुङ्गा हुने बताए । स्थानीय प्रशासनको उपस्थितिले पीडितका लागि भर र पीडकका लागि डर सिर्जना हुनुपर्ने धारणा राख्दै सबैलाई त्यस विषयमा खरो उत्रन उनले निर्देशन दिए ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नागरिकको हित अभिवृद्धि र सहज सेवा प्रवाहका लागि सबै तहका सरकारले समन्वय तथा सहकार्य गर्नुपर्ने धारणा राखे । उनले जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी लगायत सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिमा लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले शान्ति सुरक्षा र सेवा प्रवाहलाई बढी भन्दा बढी नागरिकमैत्री र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउँदै यसका लागि आवश्यक बजेट तथा दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए । उनले सुरक्षा निकायहरूलाई व्यावसायिक र राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने धारणा राखे ।
सुरक्षा गोष्ठीको अध्यक्षता गर्दै गृह सचिव एकनारायण अर्यालले जिल्लागत रूपमा भएका असल अभ्यासहरूलाई अन्य जिल्लाहरूले अवलम्बन गर्न निर्देशन दिए । प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्था, देखा परेका समस्या र सुरक्षा समितिको तर्फबाट भए गरेका कार्यहरू प्रस्तुत गरेका थिए । जिल्लाबाट उठेका विषयमा मन्त्रालयको धारणा राख्दै गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखा, नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, विपद् व्यवस्थापन महाशाखा प्रमुखले प्रस्तुतीकरण गरे । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले समेत विश्लेषणात्मक प्रस्तुतीकरण गरे । दुई दिनसम्म हेटौँडामा चलेको सुरक्षा गोष्ठीमा १३ जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी थिए ।












प्रतिक्रिया दिनुहोस्