हेटौँडा । बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या चौध हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस दोश्रोसाता आइतवारसम्म प्रदेशका १३ जिल्लामा चौध हजार ६२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगु सङ्क्रमणका कारण प्रदेशमा हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिइ । गत २४ घण्टामा यहाँ १२ जना डेंगु सङ्क्रमित थपिएको छ । प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौँमा डेंगु पुष्टि भएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौँमा ५ हजार २१६, चितवनमा २ हजार ९०६, ललितपुरमा एकहजार ४६१, मकवानपुरमा एकहजार ६१३, भक्तपुरमा एकहजार ६४४, धादिङमा ५६४, नुवाकोटमा ४४१, काभ्रेपलाञ्चोकमा ३४६, दोलखामा १४४, सिन्धुपाल्चोक १४९, रामेछापमा ५७, सिन्धुलीमा ७९ र रसुवामा सबैभन्दा कम पाँच जनामा डेंगु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार साउनमा ८७८, भदौमा दुई हजार २२१, असोजमा पाँच हजार ४५८, कात्तिकमा चार हजार ९१९, मङ्सिरमा एकहजार १११ र पुस दोस्रो सातासम्म ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । पछिल्लो तथ्याङ्कअनुसार जाडोयाममा समेत प्रदेशमा डेंगु सङ्क्रमितको घटेको छैन । गत आवमा प्रदेशभरि एघारहजार ९०६ जना डेंगुबाट प्रभावित हुनुभएको थियो ।